सन्दीप लामिछानेलाई हिरासतमा राख्न आइतबार मात्रै म्याद थप हुने

सन्दीप लामिछानेलाई हिरासतमा राख्न आइतबार मात्रै म्याद थप हुने


नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् ।

कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरु गरेको थियो । तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिबेला उनी जमैकामा क्यारेबियन प्रिमियर लीग खेल्नका लागि पुगेका थिए । तर नेपालमा आफूविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि सन्दीप लीग छाडेर निस्केका थिए । 

जमैका छाडेपछि सन्दीप कहाँ गए भन्ने टुङ्गो लागेको थिएन । लामो समयसम्म पनि प्रहरीको सम्पर्कमा नआएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिस त्यस्तो नोटिस हो, जहाँ इन्टरपोलमा संलग्न भएका देशले खोजिएका व्यक्ति आफ्नो देशमा भए नोटिस जारी गर्ने देशमा फिर्ता पठाइ दिनुपर्छ । जमैकाबाट कतार आइपुगेका सन्दीप केही दिन कतारमै बसेका थिए ।

कानुनी परामर्श लिएर सन्दीप बिहीबार नेपाल फर्किएका थिए । नेपालको विमानस्थलबाट बाहिर निस्किए लगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको थियो । बिहीबार पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको छ । अब प्रहरीले सुरुमा सन्दीपको स्वास्थ्य परीक्षण गराउने छ ।

स्वास्थ्य परीक्षणमा सबै कुरा सामान्य आएमा प्रहरीले सन्दीपसँग बयान लिन सुरु गर्नेछ । फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । बिहीबार सन्दीप पक्राउ परे लगत्तै अब प्रहरीले २४ घण्टाभित्र अदालतबाट अनुसन्धानका लागि म्याद लिनुपर्ने हुन्छ । तर भोली दशैँको बिदा र त्यसपछि शनिबार भएकोले आइतबार मात्रै प्रहरीले अदालतबाट म्याद थप गर्ने भएको छ । 

Logo