नारायणी नदीमा खतराको सूचक पार, तटीय क्षेत्र बाढीको उच्च जोखिममा

नारायणी नदीमा खतराको सूचक पार, तटीय क्षेत्र बाढीको उच्च जोखिममा


लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । 

अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । जसकारण बाढीको उच्च जोखिम बढेको गण्डक ब्यारेजका भुआर्जन अधिकारी अमित खड्काले जानकारी दिए । 

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्नसक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको पानी पस्ने खतरा भएकाले सुरक्षा निकायले सुरक्षित स्थानमा बस्न माईकिङ गरिरहेको छ ।

पानीको बहाब बढेपछि बिहीबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए । पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको र जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

Logo