पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद

पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद


बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन् । 

यसैगरी पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरमा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलामा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको बुलिङ्टार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिए ।

यातायात सम्पर्क विच्छेद भएपछि दसैँ मान्न घर गएका फर्किन पाएका छैनन् भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमाद–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

पहाडी क्षेत्र जोड्ने मुख्य बाटोमा ठाउँठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलामा समेत बाढी आएपछि गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने सडक पूर्णरूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामान लैजानसमेत कठिन भएको छ ।
 

Logo