अमेरिकी डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?

अमेरिकी डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?


अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डीभीका लागि आवेदन खुलेको हो । 

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ। आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । यसमा नोभेम्बर ८ सम्म आवेदन दिन सकिनेछ। 

कसरी भर्ने ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । 

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

सन् १९९१ बाट अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । अफ्रिकी तथा एशियाली नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिठ्ठा भर्दै आएका छन् ।

Skip This
Logo