चितवन । भरतपुरमा प्रहरी र रवि लामिछानेका समर्थकहरुबीच झडप भएको छ । जिल्ला अदालतमा लामिछानेको थुनछेक बहस चलिरहेको बेला उनका समर्थकहरुले सार्वजनिक सवारी साधनमा तोडफोड गरेपछि भरतपुरको चौबिसकोटीमा झडप भएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र बाहिरै रोकेर राखिएका सवारी साधनमा क्षति पुर्याएपछि प्रहरीले प्रतिवाद गर्दा झडप भएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
लामिछाने समर्थकले मोटरसाइकल र्याली निकालेका थिए । त्यही क्रममा तोडफोड भएको हो । प्रहरीले केही जनालाई नियन्त्रणमा लिएको छ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा रवि लामिछाने पक्राउ परेदेखि नै समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनलाई लक्षित गर्दै चितवन प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ ।
सोमबार बिहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधित क्षेत्र तोकेर त्यो क्षेत्रमा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुनमा रोक लगाएको छ ।
प्रकाशित: ९ भदौ २०७६ १४:३९ सोमबार