आज खण्डग्रास सूर्यग्रहण, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?

आज खण्डग्रास सूर्यग्रहण, ग्रहण लागेको बेला के गर्ने, के नगर्ने ?


कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । 

 

नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६:४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन् ।

 

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

Logo