खोटाङको हलेसीमा सौर्यबत्ती जडान

खोटाङको हलेसीमा सौर्यबत्ती जडान


प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ ।

उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो । बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।

सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले रु सात लाखमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ । हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।

Logo