आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई दलहरूको सुझाव

आफ्नो अभिव्यक्ति फिर्ता लिएर समाधान खोज्न हर्क साम्पाङलाई दलहरूको सुझाव


सुनसरीको धरान उपमहानगरपालिकामा सक्रिय विभिन्न ६ राजनीतिक दलका प्रमुखहरुले उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)लाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर समस्या समाधानको पहल गर्न आग्रह गरेका छन् । 

गत १३ असोजमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले विचार राखिरहँदा बैठक छाडेर जान भनेको र पछि पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा माग्ने मेयर साम्पाङको अभिव्यक्ति फिर्ता लिन राजनीतिक दलहरूले आग्रह गरेका हुन् । 

‘नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई सम्वाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न यसै विज्ञप्तिमार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं,’ दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

नेकपा एमाले धरान अध्यक्ष हर्कजङ एभेङ, नेपाली कांग्रेस धरान सभापति श्याम पोखरेल,  नेकपा (माओवादी केन्द्र) धरान इन्चार्ज चोत्लुङ्ग फोक्वाहाङ्ग (सुब्बा), जसपा नेपाल धरान अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी) धरान अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरान अध्यक्ष दोर्जे शेर्पाले आइतबार संयुक्त विज्ञप्ति निकालेर नगर प्रमुख साम्पाङलाई संवादमार्फत् समस्या समाधान गर्न सुझाव दिएका हुन् । 

विज्ञप्तिः-

मिति : २०७९/०९/०३
आदरणिय नगरवासी आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरु,
आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई यसलाई संस्थागत गर्ने चरणमा रहेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि दुईपटक स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । मुलुकमा आएको राजनीतिक परिर्वतनका पछाडि संसदभित्र र बाहिर भएको जनआन्दोलनको संघर्ष, १० बर्षे जनयुद्ध, आदीवासी जनजाती आन्दोलन र मधेश आन्दोलनको रापतापको महत्वपूर्ण भुमिका रहेको जगजाहेर नै छ । यसै गरी स्थानीय स्तरमा धरानको विकास र समृद्धिको लागि दलहरुको समन्वय र सहकार्यमा प्रदेश नं. १ को राजधानी धरान बनाउन, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधार, खानेपानी लगायतका विषयहरुमा मिलेर आन्दोलनहरु भएको छ । अहिलेको धरान उपमहानगरपालिकाको निर्वाचित जनप्रतिधिहरुको समीकरण हेर्दा झन धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वयमा मात्र सम्भव छ । यसरी मुलुक परिर्वतन लाई संस्थागत गर्ने चरणमै रहेका बेला केही तत्वहरुको सलवलाहट सुुरु भएको छ । तथापी यो यथाथर्तालाई ओझेलमा पार्ने दुस्साहसका साथ हिजोको परिवर्तनमा कुनै पनि भूमिका नभएको छदम्भेशीहरुको अराजकता सुुरु भएको छ । यसै सन्दर्भमा २०७९÷०६÷१३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरुले आफुहरूको अपमान भएको महशुस गर्नु स्वभाविक हो । हजारौ शहिदहरुको बलिदान र लाखौ लाख पार्टी कार्यकर्ता र नेपाली जनताको रगत र पसिनाबाट स्थापना भएको लोकतान्त्रिक व्यवस्थामा एउटा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घटनाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईंतन्त्र, दम्भ र उदण्डसहितको अधिनायकवादको उदय हुन लागेको आभाष भएको छ । नेतृत्वको हैसियतमा समस्या समाधानको लागि पहल कदमी लिने र यस्तो अवस्थामा अभिभावकीय भूमिका निर्वाह गर्नु छाडेर पत्रकार सम्मेलन गरि कार्यपालिकाका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भन्ने शब्द प्रयोग गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केवल आफूलाई प्राप्त मतलाई बहुमत भन्दै, दम्भ राखि आफु जस्तै जननिर्वाचित प्रतिनिधिहरुको राजीनामा माग्नु कुन नैतिकता हो ? समस्या समाधान गर्नु छाडेर नेतृत्व आफंै प्रतिवादमा उत्रने कार्यले धरानवासी जनताहरुले अपेक्षा गरेको विकास तथा समृद्धिको चाहानालाई कुठाराघात गरेको हाम्रो ठहर छ । यसले समस्या समाधान गर्नुभन्दा बल्झाउने कार्य गर्छ । तसर्थ नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई सम्वाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामुहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडी बढ्न यसै विज्ञप्ति मार्फत सुझाव प्रस्तुत गर्न चहान्छौं ।

Logo