जनकपुरधाम । जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन् ।
जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो । न्यायाधीश पौडेलले साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।
विमान उडानमा ढिलाइ भएको भन्दै गत सोमबार जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनलाई त्यही दिन जनकपुर ल्याएर जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको थियो ।
सांसद साहमाथि गैरसैनिक हवाइ उडान कसूरसम्बन्धी मुद्दा दर्ता गरी बुधबार धनुषा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गराइ अनुसन्धान थालिएको थियो । प्रहरीले सुरूमा अनुसन्धानका लागि १० दिनको समय माग गरे पनि न्यायाधीश तीर्थ प्रसाद केसीले ४ दिनका लागि मात्रै म्याद थप गरेका थिए ।
सासंद साहमाथि गैरसैनिक हवाइ उडान ऐन २०१५ अन्तर्गत दफा ९ को ६ बमोजिम मुद्दा दर्ता गरिएको थियो । जसमा गैरसैनिक हवाइ उडानसम्बन्धी कसूर गरे ५ देखि १० वर्षसम्मको कैद हुन सक्ने व्यवस्था छ ।
प्रकाशित: १ कात्तिक २०७६ १४:३० शुक्रबार