‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता


‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पर्वतमा स्वाइन फिभरको सङ्क्रमण भित्रिन नदिन बङ्गुर आयात–निर्यातमा रोक लगाइएको हो । 

काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ठूलो सङ्ख्यामा बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतका अनुसार छिमेकी जिल्लामा सङ्क्रमण देखिएपछि पर्वतका व्यावसायिक कृषकलाई भेला गराएर जैविक सुरक्षाका उपाय अलवम्बन गर्न आग्रह गरिएको छ । 

सङ्क्रमण फैलन नदिनका लागि केही औषधिसमेत वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख रामजी पौडेलले जानकारी दिए । 

जिल्लामा अहिलेसम्म सङ्क्रमण भने देखिएको छैन । पौडेलका अनुसार कृषकलाई मासु उपभोग गर्न योग्य बङ्गुर काटेर चिस्यान केद्रमा राख्नसमेत आग्रह गरिएको छ । सङ्क्रमण फैलिनुभन्दा पहिलै स्वास्थ बङ्गुर काटेर चिस्यान केन्द्रमा फ्रिजिङ गर्न भनिए पनि पर्याप्त कोल्ड रुम नहुँदा समस्या भएको छ । यसका लागि स्थानीय तहलाई समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । 

केन्द्रका प्रमुख पौडेलले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए । बङ्गुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बङ्गुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख पौडेलको भनाइ छ । 

समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट ठूलो क्षति व्यहोर्नुपर्ने भएकाले पनि कृषक र सम्बन्धित स्थानीय तहहरूले तदारुकता देखाउनुपर्ने उनको भनाइ छ । जिल्लाभित्र बङ्गुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बङ्गुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा सङ्क्रमण देखिएकाले रोगको शङ्का लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटेल तथा रेष्टुराँबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्न भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रले आग्रह गरेको छ ।

पर्वतमा व्यावसायिकरुपमा बङ्गुरपालन गर्ने कृषक वा फार्मको सङ्ख्या ६० देखि ७० वटा रहेका छन् । केही कृषकले निर्वाहमुखी रुपमा समेत बङ्गुरपालन व्यवसाय सञ्चालन गर्दै आएका छन् । जिल्लामा झण्डै दुई हजार छ सयको सङ्ख्यामा बङ्गुर रहेको अनुमान छ । 

बङ्गुरपालन व्यवसायी शिवलाल बस्यालले जुनसुकै बेला सङ्क्रमण फैलन सक्ने भएकाले उपभोग गर्न योग्य भएका बङ्गुर काटेर कोल्डस्टोर राख्ने गरी स्थानीय तहहरूसँग समन्वय भइरहेको बताए । जिल्लामा पर्याप्त चिस्यान केन्द्र (कोल्ड स्टोर) नभएकाले पोखरामा व्यवस्थापन गरिदिन स्थानीय तहहरूसँग पत्राचार गरिएको उनले बताए ।

Logo