पशु कृषकलाई प्रोत्साहन गर्न म्याग्दे गाउँपालिकाले अनुदान दिने

पशु कृषकलाई प्रोत्साहन गर्न म्याग्दे गाउँपालिकाले अनुदान दिने


व्यावसायिकरूपमा पशुपालन गर्दै आएका कृषकलाई प्रोत्साहन गर्नका लागि तनहुँको म्याग्दे गाउँपालिकाले अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा बोका वितरणका लागि रु. तीन लाख ५० हजार, च्यापकटर वितरणका लागि रु. एक लाख, गोठ खोर निर्माणका लागि रु. चार लाख, लोकल कुखुरा वितरणका लागि रु. एक लाख बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए । 

“व्यावसायिकरूपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ”, उनले भने, “अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौँ ।” उनका अनुसार कृषकले गाउँपालिकामा निवेदन दिएकामा निवेदन दिएका कृषकहरूको फार्म अनुगमन गरिएको छ ।

गाउँपालिकाले कृषकलाई अनुदान दिनका लागि एक सय २२ व्यावसायिक फार्मको अनुगमन सम्पन्न गरेको छ । अनुदान वितरणका लागि पालिकाले व्यावसायिक कृषकसँग निवेदन माग गरेको थियो। तीमध्ये एक सय २२  कृषकले अनुदान प्राप्तिका लागि निवेदन दिएकामा गाउँपालिकाले सबै फार्मको अनुगमन गरेको हो । 

नवदुर्गा कृषि फार्मका सञ्चालक युवराज शाहीले बैंकबाट ऋण लिएर लगानी गरे पनि उत्पादनले बजार नपाउँदा समस्या हुने गरेको गुनासो गरे । “गाउँपालिकाको सातवटै वडामा पुगेर व्यावसायिक फार्म अनुगमन गरेका छौँ, अब कृषकको वर्गीकरण र आवश्यकता हेरेर अनुदान रकम उपलब्ध गराउँछौँ”,उपाध्यक्ष घिमिरेले भने । गाउँपालिकाले कुखुरा तथा पशुपक्षीपालन, माछापालन, बङ्गुरपालन, भैँसीपालन, मौरीपालनलगायतको निरीक्षण गरेको थियो । 

वास्तविक कृषक पहिचानका लागि अनुगमन गरिएको जनाउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “अनुदानका लागि निवेदन परे पनि वास्तविक कृषक हो कि होइन भनेर अनुगमन गरेका हौँ । अनुदानको प्रक्रिया अगाडि बढाउँछौँ ।”

Logo