सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न

सुन्दरबजारमा ३३ प्रतिशत योजना सम्पन्न


लमजुङको सुन्दबजार नगरपालिकामा चालु आर्थिक वर्ष भित्र कार्यान्वयन हुने गरी सम्झौता भएका योजना मध्ये करिब ३३ प्रतिशत योजना मात्र सम्पन्न भएका छन् ।

चालु आर्थिक वर्ष २०७९/०८० मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी वडा वडामा छनौट भएका योजना मध्ये ३३ प्रतिशतले भुक्तानी लिइसकेको योजना शाखाका प्रमुख ऋषिराम पौडेलले बताए ।

नगरपालिकामा वडागत योजना मध्ये १ सय ५० योजना सम्झौता भएकोमा हालसम्म ३२ दशमलब ९० प्रतिशत अर्थात् ४९ योजना मात्र सम्पन्न भई भुक्तानी लिइसकेका छन् ।

नगरपालिकाका ११ वडामा चालु वर्षभित्र सम्पन्न हुनेगरी सम्झौता भएका योजनामा सवैभन्दा धेरै वडा नंं. १ र ६ मा २२/२२ वटा योजना रहेका छन् । ती मध्ये १ मा १० वटा र वडा नंं ६ मा ६ वटा योजना सम्पन्न भई भुक्तानी समेत गरिएको नगरपालिका योजना शाखाले जनाएको छ। 

त्यस्तै वडा नं. ९ मा १९ योजना सम्झौता भएकोमा ११ वटा फछ्र्यौट भइसकेको छ। वडा नं ७ र १० मा हालसम्म कुनै पनि योजना सम्पन्न नभएको योजना योजना शाखाले जनाएको छ ।

सोबाहेक वडा नंं २ मा चार, ३ मा चार, ४ मा तीन, ५ मा छ, ८ मा चार र वडा नंं ११ मा छ वटा योजना सम्पन्न भई भुक्तानि समेत लिइसकेको बताइएको छ । त्यस्तै वडा नंं ७ र ९ को साझा एक योजना पनि फर्छ्याैट भएको छ ।

योजना शाखाका अनुसार हालसम्म सम्झौता भएका योजनामध्ये ९ वटा योजना भुक्तानी प्रक्रियामा रहेको र ८८ योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

नगरपालिकाले योजना सम्झौताको अन्तिम मिति यहि चैत २५ गते सम्मलाई तोकेको छ। यसअधि सम्झौता भएका तथा अव सझौता हुने योजनाहरु आगामी जेठ मसान्तसम्म कार्यान्वयन गरिसक्नुपर्ने समयसिमा तोकिएको छ।

आर्थिक वर्षको अन्त्यसम्म पुग्दा आयोजनाहरु राम्रो नहुने भन्दै अधिकाशं स्थानीय तहले चैत मसान्तभित्रमा सवै योजना सम्पन्न गर्ने समयसिमा तोकेका छन् ।

तर चैत सकिनै लाग्दा पालिकाहरुमा ५० प्रतिशत पनि योजना सम्पन्न नहुदाँ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि असार मसान्तमा हतार हतार काम गरी भुक्तानिका लागि चटारो हुने देखिएको बताइन्छ ।

असार १५ गते भित्रमा सम्झौता भएका सवै योजना सम्पन्न गरी भूक्तानि लिइसक्नुपर्ने प्रावधान रहेकोले कार्यान्वयनको चरणमा रहेको योजनाहरुको काम समयमै सम्पन्न गर्न नगरपालिकाले ताकेता गर्दै आएको योजना शाखाले जनाएको छ ।

Skip This
Logo