अभिनेत्री शर्लिन चोपडालाई ज्यान मार्ने धम्की, दिइन् प्रहरीमा उजुरी

अभिनेत्री शर्लिन चोपडालाई ज्यान मार्ने धम्की, दिइन् प्रहरीमा उजुरी


बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् ।

जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यी नै शर्लिनलाई ज्यानको धम्की आएको छ ।

शर्लिनका अनुसार उनलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । त्यहीकारण उनले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गराएकी छन् । शर्लिनले फाइनेन्सरले उनलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताइन् । त्यहीबेला उनीमाथि छेडछाड गरिएको थियो ।

‘जब मैले उसलाई त्यो कामबाट रोकें, तब उसले मलाई गाली गर्यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उनले भनेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

शर्लिनलाई बलिउडमा विवादको पर्याय मानिन्छ । हालैमात्र उनले अर्की विवादास्पद अभिनेत्री तथा मोडल राखी सावन्तसँग झगडा गरेकी थिइन् । सोहीकारण उनी प्रहरीसमक्ष पुगेकी थिइन् ।

Logo