‘प्रेस स्वतन्त्रतामाथि अझै पनि कालो बादल मडारिएको छ’

‘प्रेस स्वतन्त्रतामाथि अझै पनि कालो बादल मडारिएको छ’


प्रेस र मानव अधिकारसंग आवद्ध व्यक्तिहरुले नेपालमा अझै पनि प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको बताएका छन् । प्रजातन्त्रको पुर्नस्थापनामा महत्वपूर्ण भुमिका निभाएको प्रेस जगतले अझै पनि यही प्रजातन्त्रभित्र स्वतन्त्रताको स्वाद चाख्न पाउने अवस्था नबनेको पनि उनीहरुको निष्कर्ष छ । 

३०औं विश्व प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको बताए । 

उनले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड तथा मानवअधिकारको अभिन्न अंग समेत भएको उल्लेख गरे । ‘स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो भने मानवअधिकारको अभिन्नअंग समेत हो । नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको छ ।’ उनले भने । 

अध्यक्ष मगरले संयुक्त राष्ट्रसंघले नै यसपालीको नारा मार्फत पूर्ण मानवअधिकारको आधार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको बताएकाले यसको विश्वभर प्रेस स्वतन्त्रताको महत्वझनै घनिभूत भएको बताए । 

सो अवसरमा उनले स्वतन्त्र प्रेसका मूल्य मान्यतालाई आत्मसाथ गर्दै नागरिकलाई सूसुचित गराउने काममा थप खरो उत्रिन पत्रकारहरुलाई आग्रह गरे । 

त्यस्तै, पत्रकार महासंघका निर्वतमान अध्यक्ष गोविन्द आचार्यले अझैपनि नेपालमा स्वतन्त्र प्रेसमाथि जिम्मेवार राजनीतिक दलबाटै प्रहार हुने गरेको बताए । प्रेसमाथि अंकुश लगाउने प्रकृतिमा फरकपन देखिए पनि प्रवृतिमा सुधार आउन नसकेको उनको भनाइ छ । 

हामीले प्रयोग गरिरहेका डिजिटल प्लेटफर्महरुमाथि अनधिकृत हस्तक्षेप चुनौतीको विषय बनेको उनको भनाइ छ । 

महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले मिडियालाई नियमनगर्ने नाममाआउने ऐन नियमले प्रेसलाई संकुचित गर्ने प्रयत्न भैरहेको बताएका छन् । संघ तथा प्रदेशबाट बन्ने ऐन नियम मिडियाकै हितका लागि भन्दै निर्माण हुने तर सोच भने कुनै न कुनै रुपमा प्रेस माथि अंकुस लगाउने रहेको देखिएको उनको टिप्पणी छ । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारितामा संलग्न पत्रकारहरुको पेशागतहितको विषयझनै पेचिलो बन्दै गएको बताइन् । भूकम्प तथा कोरोना कहरका कारण पत्रकारहरु पेशाबाट पलायन हुनुपर्ने अवस्था बनेको भन्दै उनले त्यसको सुरक्षाका लागि आवश्यक पहल हुनुपर्ने बताइन् । 

उनले भनिन् ‘यो पेशामा टिक्नका लागिपनिपत्रकारहरुले अनुभूतगर्न सक्ने वातावरण कति बनेको छभन्ने कुरा पनि महत्वपूर्ण चुनौतीको रुपमा अहिले आइरहेको छ ।’ एकदिनको दिवसमा मात्रै नभई हरेक दिन प्रेस स्वतन्त्रका सन्र्दभमा सजग रहनु पर्ने उनको ठहर छ । 

त्यस्तै, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अझै पनि प्रेस स्वतन्त्र छ भनेर भन्न सकिने अवस्था नभएको टिप्पणी गरेका छन् । 

प्रेसलाई आफू अनुकुल बनाउन खोज्ने स्वार्थ समूहको प्रवृतिका कारण समस्या बढेको उनको भनाइ छ । उनले भने, ‘प्रेसलाई नियन्त्रण र आक्रमण गर्ने प्रवृति, प्रेसलाई आफ्नो ईच्छाअनुसार लेख्न लगाउने प्रवृत्ति जस्ताको त्यस्तै छ । अझै पनि प्रेस स्वतन्त्र छ है भनेर भन्न सम्ने स्थिति छैन् । प्रेसमाथि आक्रमण गर्ने पक्षचाहे त्यो राज्यपक्ष होला चाहे गैर राज्यपक्ष होला । प्रेस माथि आक्रमण गर्ने पक्षलाई कानूनी रुपमा कारवाहीगर्ने प्रावधान र त्यो प्रकृयाको थालनी हुन जरुरी छ ।’

कार्यक्रममा विभिन्न पार्टी निकट पत्रकार संगठनका प्रतिनिधिले अझै पनि प्रेस स्वतन्त्रका लागि निरन्तर खबरदारीको आवश्यकता औंल्याएका छन् । कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकारको अवस्थाबारे वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो । 

Logo