आफ्ना नागरिक नै बेच्नेलाई कुनै बहानामा पनि छाेड्नुहुन्नः अध्यक्ष लिङ्देन

आफ्ना नागरिक नै बेच्नेलाई कुनै बहानामा पनि छाेड्नुहुन्नः अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । 

राप्रपाले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरुपमा राज्यशक्तिको दुरुपयोग गरेको घटनाले नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा शीर निहुर्याउनु पर्ने परिस्थिति सृजना गरेको बताएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शरणार्थी प्रकरणमा राष्ट्रघाती र देशद्रोही काम गरेर आफ्ना नागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामा पनि छुट दिन नहुने बताए । 

उनले भने, ‘वहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केही आशा जगाएको भएपनि विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानुका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्ति पाउने नजिरका कारण पूर्णरूपमा आश्वस्त हुनसक्ने अवस्था सिर्जना भईसकेको छैन ।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनैपनि बहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिशको विरुद्ध रहने पनि प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । अहिलेको छानविन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र यस प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन पनि राप्रपाको माग छ । 

Logo