टर्कीको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत नपुग्ने सङ्केत

टर्कीको राष्ट्रपतीय चुनावमा कुनै पनि उम्मेदवारको आवश्यक बहुमत नपुग्ने सङ्केत


आइतबारको मतगणनामा ५० प्रतिशतभन्दा माथिका कुनै पनि उम्मेदवारले प्रत्यक्ष जित हासिल गर्न नसकेको देखिएको यहाँको अर्धसरकारी समाचार संस्था, अनादोलु एजेन्सीले सोमबार बिहान सार्वजनिक गरेको नतिजाले देखाएको छ ।

अनादोलुका अनुसार टर्कीको राष्ट्रपतिको निर्वाचन पुनः हुने सम्भावना बढिरहेको छ । प्रारम्भिक परिणामले टर्कीका वर्तमान राष्ट्रपति रेसेप तैयप एर्दोगानले विपक्षी प्रतिद्वन्द्वी केमल किलिकडारोग्लुको तुलनामा सहज अग्रता लिएको देखाएको थियो । तर ९३ प्रतिशत मत गणना गर्दा एर्दोगानले ४९.६७ प्रतिशत मत प्राप्त गरेकाे र विपक्षी नेता केमल किलिकडारोग्लुले ४४.५९ प्रतिशत मत प्राप्त गरेका छन् । 

तेस्रो उम्मेदवार सिनान ओगानले ५.३ प्रतिशत मत प्राप्त गरेका छन् । यदि निर्वाचनको पहिलो चरणमाबाट कुनै पनि राष्ट्रपति पदका उम्मेदवारले साधारण बहुमत वा ५० प्रतिशत मत प्राप्त गर्न नसकेमा मे २८ मा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनेछ ।

एर्दोगानको सत्तारुढ जस्टिस एन्ड डेभलपमेन्ट पार्टी (एकेपी), नेशनलिस्ट मुभमेन्ट पार्टी (एमएचपी), न्यू वेलफेयर पार्टी र ग्रेट युनियन पार्टीद्वारा गठित पिपुल्स एलायन्समा ३२३ सांसद रहेको अनौपचारिक नतिजाले देखाएको छ । छ दलीय विपक्षी गठबन्धनले कूल २१४ सदस्य सांसद प्राप्त गरेको छ र यो सङ्ख्या गठबन्धनले अपेक्षा गरेको वर्तमान कार्यकारी राष्ट्रपतिको अन्त्यका लागि जनमत संग्रह गर्न आवश्यक ३६० सिटभन्दा निकै कम हो । 

परिणामअनुसार विपक्षी वामपन्थी राजनीतिक दलहरूको गठबन्धन लेबर एन्ड फ्रिडम एलायन्समा ६३, ग्रीन लेफ्ट पार्टीसँग ६० र वर्कर्स पार्टी अफ टर्कीले तीन सांसद जिताउन सफल भएका छन् । 

मतदानमा करिब छ करोड १० लाख मतदाताले सहभागिता जनाएका छन् । विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम मतदानका लागि व्यवस्था गरिएको थियो भने यसमा करिब ८० प्रतिशत मत खसेको थियो । -सिन्ह्वा

Logo