‘सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारोमा पर्‍याे’ -गृहमन्त्री श्रेष्ठ

‘सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारोमा पर्‍याे’ -गृहमन्त्री श्रेष्ठ


उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन सकिनेमा जोड दिएका हुन् । नयाँ मूल्य स्थापित गरेर समाजलाई उन्नत बनाउनुपर्ने उनको भनाइ थियो । 

“अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्, यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ, पार्टी र नेता नबदलिई देश बदलिँदैन, पुस्तकमा लेखकको आशय पनि यही छ, संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ तर हामी अदक्ष कामदार खाडीमा पठाइ तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौँ”, उनले भने । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आफू मन्त्री हुँदा कर्मचारी राखेरमात्र निर्माण व्यवसायीसँग कुरा गरेको प्रसङ्ग पनि कार्यक्रममा उनले सुनाए । यस्ता कामको सुरुआत नगरी नयाँ मूल्य स्थापित नहुने उपप्रम श्रेष्ठको भनाइ थियो । 

पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक उपन्यासका लेखक दाहालले राजनीतिमा अपराध भइरहेको पीडाले उपन्यासको जन्म भएको जानकारी गराए ।  मसानघाटबाट सुरु भएर मसानघाटमै ‘कालपात्र’ उपन्यास सकिने उनले सुनाए । देश, संस्था कुनै पनि तह र तप्काको नेतृत्व गर्नेले ‘कालपात्र’ उपन्यास पढ्नैपर्ने लेखक दाहालले बताए । 
  
“सर्वाधिक विकृति पत्रकारिता क्षेत्रमा छ, हिजो प्रेस विरोधी बजेट आएको छ, प्रहरी, प्रशासन र न्यायालयमा पनि यस्तै विकृति छ, सरकारी अनुदान लिन कमिसन दिनुपर्छ, तर यो कसैले पनि भन्दैन”, उनले भने । गत वर्ष छ महिना अमेरिका बसेका बेला उपन्यास तयार पारिएको जानकारी पनि लेखक दाहालले गराए।  

Logo