समाज प्रदेश ३

वाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

15 Shares

काठमाडौं ।

वाग्मती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको हो । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए । काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए ।

गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहनेछन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ । छ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ ।

राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । उक्त राजपत्रको खण्ड ग मा काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णय अनुसार हुनेछ भनी उल्लेख गरिएको छ ।

काठमाडौँमा बिदा हुन्छः कानूनमन्त्री

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका छन् । मन्त्री जम्कट्टेलले काठमाडौँ उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट गरे।
रासस

प्रकाशित: १० माघ २०७६ ०६:३१ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी