अधिकमास अर्थात् मलमास आजदेखि समापन गरिँदै

अधिकमास अर्थात् मलमास आजदेखि समापन गरिँदै


प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि समापन हुँदैछ ।
 
साउन २ गतेदेखि सुुरु भएको अधिकमास आज समाप्त हुन लागेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको सौर वर्ष हुन्छ । तीन सय ५४ दिनको चान्द्र वर्ष हुन्छ । सौर वर्ष र चान्द्र वर्षमा प्रत्येक साल ११ दिन समय बढी हुन आउँछ । सौर र चान्द्र वर्षलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ ।
 
महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । जसमा भनिएको छ–
         असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
         द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
 
    अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुई वटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिव पोखरेलले बताए । 
 
क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । 
 
क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयमासभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयमासभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । 
 
सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ  ।
  
यस अवसरमा रत्नपार्कबाट करिब आठ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायण मन्दिरमा मेला लाग्ने गरेको छ । यहाँ मत्स्यनारायणको प्रस्तर मूर्ति छ । स्थानीयवासीले भने बिहान ७ः१५ बजेसम्म मन्दिरमा पूजा आराधना गर्न पाएका थिए ।   
 
मलमासको अवधिभर मत्स्यनारायण अर्थात् मच्छेनारायणमा टाढाटाढाबाट लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तममास माहात्म्य वाचन हुने गरेको छ । 

यस वर्ष अहिलेसम्म करिब साढे २० लाख भक्तजनले मत्स्यनारायण मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको मेला व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले राससलाई जानकारी दिए । मेला आजदेखि सकिए पनि पूर्णाहुतिसहित धार्मिक विधिअनुसार समापन भने भदौ १ गते गरिने उनले सुनाए ।
 
यो महिनामा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्मग्रन्थमा उल्लेख गरिएको छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार मच्छेनारायण मन्दिरमा छ । माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शङ्ख, चक्र, गधा र पद्म लिएको मूर्ति देख्न सकिन्छ ।
 
भगवान् विष्णुले दश अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरे । मत्स्यरुपी भगवान्ले प्रलयकालमा समुद्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेकाे पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।  
 
यस वर्ष साउन महिनामा अधिकमास परेकाले नेपालीका धेरै पर्व नागपञ्चमीदेखि दसैँ, तिहार एवं छठसमेत पछि सरेको छ । यसअघि २०७८ असोज र त्यसअघि २०७५ जेठ महिनामा अधिकमास परेको थियो ।  

यो महिनामा वैदिक सनातन धर्मावलम्बीले घरघरमा पुरुषोत्तममास माहात्म्य पाठ गर्ने र कथा सुनी मनाएका छन् । भगवान् पुरुषोत्तमलाई मालपुवा अर्पण गरी आफन्त र परिवारले खाई पुरुषोत्तम मास मनाइएको छ । यस अवसरमा नेपालीले गुरु एवं पुरोहित, छोरी, ज्वाइँ, भाञ्जाभाञ्जीलगायत आफन्तलाई घरमा डाकेर मालपुवा दान गर्ने विधि रहेको छ ।

Logo