सुरक्षा निकायका र अख्तियार प्रमुखको सहयोगमा कंकालिनी देवीको मन्दिरमा हेलिकोप्टरबाट आज पुष्प वृष्टि हुँदै

सुरक्षा निकायका र अख्तियार प्रमुखको सहयोगमा कंकालिनी देवीको मन्दिरमा हेलिकोप्टरबाट आज पुष्प वृष्टि हुँदै


सप्तरीको हनुमान नगरस्थित कंकालिनी देवीको मन्दिरमा आज हेलिकोप्टरबाट पुष्प वृष्टि गरिने भएको छ। कंकालिनी देवीलाई पूर्वी नेपालकै शक्तिपीठहरुमध्ये मानिन्छ।

आज महानवमीका दिन बिहान ११ बजेदेखि सुरु भएर ११ः४५ बजेसम्म हेलिकप्टरबाट पुष्प वृष्टि गरिने कुरा आयोजकले जानकारी दिएका छन्। पुष्प लिएर नेपाली सेनाको हेलिकोप्टर केहीबेरमा काठमाडौँबाट हनुमान नगरतर्फ उड्न लागेको छ।

पुष्प वृष्टिका लागि प्रधानसेनापति महासेनानी प्रभुराम शर्मा, प्रधानन्यायाधीश विश्वम्बर प्रसाद श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई र प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहयोग गरेका छन्।

मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले यो कार्यको संयोजन गरेका छन्। नागरिक अगुवामण्डलले सुरक्षा निकायका तीन प्रमुख र अख्तियारका प्रमुखले गत वर्षदेखि पुष्प वृष्टि गर्नमा सहयोग गर्दै आएको जानकारी दिएका छन्। मण्डलले यसको थालनी गरेका हुन्।

कंकालिनी देवीथानमा हरेक बर्ष महानवमीका दिन हजारौं पशु र पंक्षीहरुको बलि दिने चलन रही आएको छ। बलिदिनु अघि यहाँ महानवमीका दिन संकल्प पूजा हुने गर्छ। संकल्प पूजाको समयमा गत वर्ष झैं यस बर्ष पनि मन्दिर परिसरमा हेलिकप्टर बाट पुष्प वृष्टि गर्ने चलन सुरु गरिएको हो। 

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर बीरेन्द्र माझी, कंकालिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ई.श्यामसुन्दर मण्डल र पूजा व्यवस्थापन समितिका २०८० का संयोजक लक्ष्मण मण्डल सहित समाजका गन्यमान्य ब्यक्तिहरुले पनि यस कार्यमा सहयोग गर्ने नागरिक अगुवा गणेश मण्डलले बताए।

कंचनपुररुप नगरपालिकाका मेयर ललन गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, तिरुहुत गाउँपालिकाका अध्यक्ष बिजयकुमार यादव समेत यस कार्यमा जोडिएका छन्।

नेपाली सेनाको हेलिकोप्टर पुष्प बोकेर हनुमाननगर जाने छ। सहसेनानी निशान कुँवर, सहसेनानी सुजित श्रेष्ठ र प्रासु देबराज न्यौपानेको चालक समूहले लिएर जाने हेलिकप्टर नेपाली सेनाले उपलब्ध गराएको थाहा भएको छ।

Logo