११ असोज २०७९ मंगलबार
1
1
1
1

कोरोना जोखिमपछि मुलुकभर ३०५ जना कैदी छुटे

1
1
1
1

काठमाडौं ।

कोरोनाको त्रास फैलिएसँगै गत चैत ७ गतेदेखि आजसम्म देशभरि ३०५ जना कैदी छुटेका छन् ।

सरकारले देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदी तथा थुनुवाको संख्या घटाउने निर्णय गरेसँगै आइतबारसम्म ३०५ जना कैदी थुना मुक्त भएका हुन् । यसका लागि सरकारले महान्यायाधीवक्ता अग्नि खरेलको अध्यक्षतामा गत चैत्र ७ गते समिति बनाएको थियो । मुलुकका विभिन्न कारगारहरुबाट १३१ जना र बालसुधार गृहबाट १७४ सहित ३०५ जना थुना मुक्त भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदिपराज कँणेलले केन्द्रविन्दुलाई बताए ।

उनका अनुसार सर्वोच्च अदालतको चैत्र ७ को आदेशको बुँदा नम्वर ६ को फौजदारी कार्यविधि संहिता ०७४ को दफा १५५ अनुरुप १ वर्ष वा सो भन्दा कम कैद छेकिएका र मुद्दाको अन्तिम टुङ्गो लागेका व्यक्तिहरु छुट्न चाहेका अवस्थामा कारागार प्रशासनमा निवेदन दिनु पर्ने व्यवस्था छ । निवेदन दिइएकालाई कारागारले सम्वन्धित जिल्लाको सरकारी वकिल कार्यालय समक्ष फर्वार्ड गर्दछ । सरकारी वकिल कार्यालयले सम्वन्धित अदालत वा न्यायिक निकायमा प्रस्तुत गरिसकेपछि अदालत वा न्यायिक निकायबाट छुट्न सकिने व्यवस्था गरिएको छ । सोहि प्रक्रिया अनुसार गत चैत्र ७ गतेको सर्वोच्च अदालतको आदेशपछि हालसम्म विभिन्न ३०५ जना थुना मुक्त भएका हुन् ।

गत चैत्र ७ गते महान्यायाधीवक्ताको कार्यालयमा बसेको बैठकपछि देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका (जघन्य अपराधमा संलग्न बाहेक) का कैदी तथा थुनुवाहरुलाई धरौटी, तारेख तथा हाजिरी जमानीमा रिहा गर्ने प्रक्रिया खुल्ला गरिएको थियो । सोही निर्णय अनुसार महान्यायाधीवक्ताको कार्यालयलले प्रहरी प्रधान कार्यालय, देशभरका सबै उच्च, विशेष तथा जिल्ला सरकारी वकिल कार्यालयलाई पत्र लेख्दै अपराध अनुसन्धानको क्रममा आशंकित व्यक्तिलाई कसुरको गम्भीरता र संवेदनशीलता अनुसार धरौटी लिने, हाजिर जमानीमा छाड्ने वा तारिखमा राख्ने गरी प्रक्रिया अगाडि बढाउन भनेको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले फौजदारी नियमावली २०७५ को नियम २५ अनुसार अपराध अनुसन्धानको क्रममा कसुरको गम्भीरता र संवेदनशीलता एवम् आशंकित व्यक्तिलाई लागेको आरोपको प्रकृतिसमेतलाई विचार गरी पक्राउ नगरी अनुसन्धान गर्न महान्यायाधीवक्ताको कार्यालयको पत्रमा उल्लेख थियो ।

कारागारका कैदीलाई विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमण तथा जोखिम कम गर्न भन्दै मुलुकका कारागारहरुमा पनि आइसोलेसन र क्वारेनटाइनको व्यवस्था गरेको विभागका महानिर्देशक कँणेलले बताए । उनका अनुसार कारागारमा रहेका बन्दिहरुलाई बाहिर भेटघाट पूर्ण रुपमा बन्द गरिएको छ ।

नयाँबन्दीहरु आएमा स्वास्थ्य परिक्षण गरेर मात्र अवस्था हेरेर क्वारेनटाइनमा राख्ने, बन्दिहरुलाई न्यायिक निकायमा उपस्थित वा उपचारको लागि लानुपर्ने अवस्थामा पुनः स्वास्थ्य परिक्षण गरिसकेपछि मात्र लगिने व्यवस्था गरिएको छ । विभागले अधिकांश कारागारमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको जनाएको छ । सुनसरीस्थित झुम्का कारागारमा प्रदेश नम्वर १ का आन्तरिक तथा कानुन मन्त्रालयको सहयोगमा १२ जना क्षमताको क्वारेन्टाइनको व्यवस्था गरिएको महानिर्देशक कणेलले बताए ।

यता नख्खु कारागार परिसरमा रहेको मनोसामाजिक अस्पतालमा २० जना क्षमताको आइसोलेसन् र कारागारकै निर्माण सम्पन्न तर हस्तान्तरण हुन बाँकी महिला वार्डमा १ सय क्षमताको क्वारेन्टाइनको लागि स्थान तयार भएको बताइएको छ। वेडको सुविधा व्यवस्था गर्न भने बाँकी रहेको कँणेलको भनाइ छ । त्यस्तै केन्द्रिय कारागार जगन्नाथ देवल (सुनधारा) मा २५ शैयाको स्थायी अस्पतालमा २० जना क्षमताको लागि आइसोलेसन राख्ने तयारी भएको छ । तर यसका लागि पनि साधन स्रोतको व्यवस्थापन भने बाँकी रहेको कँणेलले बताए । हालसम्म कारागारमा रहेका कुनैपनि कैदीमा कोरोना सङ्क्रमण नदेखिएको पनि उनले जानकारी दिए ।

प्रकाशित: २३ चैत २०७६ १५:१९ आइतबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी