१४ माघ २०७८ शुक्रबार

0 Shares

शुक्रबारदेखि चरणवद्ध आन्दोलन गर्ने राष्ट्रिय व्यवसायी महासंघको चेतावनी

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरी त्यस्तो चेतावनी दिएको हो ।

लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउनुपर्ने महासंघको माग छ । महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने जानकारी दिए ।  लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुर्नकर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३ दशमलव ५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायीक घरभाडा छुट दिनुपर्ने लगायत महासंघको माग छ ।

लकडाउनको कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजी क्षेत्र सम्मिलित समन्वय समिति गठन गर्नुपर्नेमा महासंघको जोड छ । व्यवसायीहरुले राखेका मागहरु पूरा गर्न दबाब दिन पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले जानकारी दिए । त्यसपछि पनि सरकार गम्भीर नबने चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनले कोरोना महामारीका कारण प्रभावित भएका उद्योग, कलकारखाना र व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले पनि आफूहरु आन्दोलित हुनु परेको बताए ।

प्रकाशित: २४ असार २०७७ १७:३७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी