समाज प्रदेश ६

कर्णालीमा अनुदानको २० किलो चामलमा आकर्षण बढ्दै

15 Shares

सिमकोट ।

साविकको कर्णाली अञ्चलका पाँच जिल्लाका बासिन्दालाई सरकारले जन्म र मृत्युमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महसुस हुने गरेको छ ।

गत आर्थिक वर्ष साउनसम्म जन्मका अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडाबाट ५६० जनालाई ११४ क्विन्टल चामल वितरण गरिएको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड, हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । “आर्थिक वर्ष २०७६/७७ मा हामीले मृत्यु भएको अवसरमा प्रदान गरिने चामल १६५ लाई २० केजीका दरले ३१ क्विन्टल २० किलो चामल वितरण गरेका छौं,” शााखा प्रमुख विष्टले भने, “यो कार्यक्रमप्रति हरेक वर्ष स्थानीयवासीको आकर्षण बढ्दै गएको छ ।”

कम्पनीका अनुसार सिमकोट शाखा कार्यालयबाट जन्मका अवसरमा ३२०, श्रीनगर डिपोबाट १३८ र सर्केगाड डिपोबाट ११२ जना गरेर ५६० जनालाई सात लाख २० हजार ५२० को चामल निःशुल्क वितरण गरिएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ३३ हजार ५ सय रकम दिइएको शाखा प्रमुख विष्टले जानकारी दिए ।

यस्तै मृत्युका अवसरमा प्रदान गरिने चामलमध्ये सिमकोट शाखाबाट १३३, श्रीनगरबाट एक र सर्केगाडबाट २२ जना गरेर रु दुई लाख ५ हजार ७६० मूल्यको १५६ जनालाई ३१ क्विन्टल चामल र ६३ हजार ५०० ढुवानी रकम प्रदान गरिएको छ ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि कम्पनीले ३५ दिनको अवधि राखेर जन्मका हकमा शिशु अस्पतालमा जन्मेको प्रतिवेदन तथा शिशुको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडा पालिकाको सिफारिस र मृत्यु हुनेका हकमा मृत्युदर्ता, वडा पालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रम अन्तर्गत सिमकोट आसपासका गाउँका बासिन्दालाई रु ५०० दिइएको छ भने अन्य टाढाका गाउँका बासिन्दालाई रू एक हजार भुक्तानी गर्दै आइएको शाखा प्रमुख विष्टले बताए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका समयमा तत्कालीन कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका बासिन्दालाई जन्म र मृत्युमा आवश्यक प्रक्रिया पुर्याएर २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।रासस

प्रकाशित: ८ भाद्र २०७७ १५:३३ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी