1

0 Shares

स्थानीयबासीद्वारा पशुपति क्षेत्र विकास कोष घेराउ

1
1
1

काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीयबासीले पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको क्षेत्रलाई मानवसाङ्लो बनाई घेराउ गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयबासीले दोस्रो चरणको विरोधअन्तर्गत बुधबार कोषको कार्यालय रहेको क्षेत्रलाई मानव साङ्लो बनाई घेराउ गरेका हुन् ।

स्थानीयबासीले पशुपति क्षेत्रको विकासको नाममा परापूर्वकालदेखिको बस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् । पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १ सय ४० पर्व र ४० भन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नु परेको बताए । कोषले ल्याएको गुरुयोजनाको खारेजको माग गर्दै आफुहरुले दोस्रो चरणको विरोध स्वरुप आज कोषको कार्यालय घेराउ गरिएको उनको भनाइ छ ।

त्यस्तै बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको आरोप लगाए । तर सरकारले स्थानीयका कुनै पनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको उनको भनाइ छ । उनले खासगरी स्थानीयले गुरुयोजना खारेज गर्न, पशुपति क्षेत्र विकास कोषको खारेज गरी काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याउन माग गरेको उनले बताए । तर सरकार संवेदनशील नभएकाले कोभिड संक्रमणको जोखिको अवस्थाका बीच पनि आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषले स्थानीयबासी र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेकाले समस्या देखिएको स्थानीयहरुको भनाइ छ । स्थानीय बस्ती हट्नेभन्दा पनि पशुपति क्षेत्रभित्रका जात्रा, पर्वहरुको विनास हुने चिन्तामा आफूहरु रहेको उनीहरुले बताएका छन् । पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म बस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको बस्ती हटाउने परिकल्पना गरेको छ ।

प्रकाशित: २१ असोज २०७७ १३:४७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी