1
1

0 Shares

विद्युतीय शवदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

1
1
1

काठमाडौं । विद्युतीय शवदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाह गृह निर्माण हुने छ । महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाह गृह निर्माणको सम्झौता गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । अहिले दैनिक ३५ देखि ४५ वटा शवदाहन हुने गरेकोमा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ । लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनको भनाइ छ ।

त्यस्तै महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले वार्षिक बजेट मार्फत तीन वटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताए । अहिले निर्माण कार्य अगाडि बढेका सबै शवदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उनको भनाइ छ ।

शवदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौता पत्रमा महानगरपालिका तर्फबाट प्रमुख शाक्य र कोषका तर्फबाट सदस्य सचिव डा. ढकालले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले निर्माणका लागि तीन किस्ता र मेशिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ ।

साथै वेवारिसे, अति विपन्न वा अन्य कारणले गर्दा शवदाह गर्न तिर्नुपर्ने शुल्क तिर्न नसक्ने अवस्थामा काठमाडौं महानगरपालिका र वडा कार्यालयहरुबाट सिफारिस भएमा निःशुल्क शवदाहको प्रवन्ध मिलाउनुपर्ने, अनुदानको रकम अन्य ठाउँमा प्रयोग गर्न नपाइने र रकम भुक्तानी गर्दा शहरी पूर्वाधार विकास कोषको सिफारिसमा मात्रै भौतिक प्रगतिका आधारमा उपलब्ध गराउने समझदारी भएको छ । सम्झौता र स्वीकृत भएको नक्सा डिजाइन अनुसार काम भए/नभएको अनुगमन गर्न शरही विकास पूर्वाधार विभागको विभागिय प्रमुखको संयोजन रहने गरी २ सदस्यीय समिति पनि गठन भएको छ ।

प्रकाशित: २८ असोज २०७७ १६:५७ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी