समाज प्रदेश ३

तिहारको चौथो दिन आज गोवर्धन पूजा गरि मनाईंदै (भिडियो)

15 Shares

काठमाडौं ।

आज गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन भव्यताका साथ मनाईंदैछ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे ।

कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी र दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी पनि हुन्छन् । उनीहरु गोवर्धन पर्वतको पूजा पनि गर्छन् ।

आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टी गराउँछन् । भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् । अन्त्यमा आफ्नो हार मानि इन्द्रले गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।

त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन गाईपूजा गर्न नपाएकाहरुले आज गाईको पूजा पनि गर्ने गरेका छन् । तिहारका ५ दिन मध्ये आजको दिनलाई विशेष मानिन्छ । यसदिन बेलुका घरघरमा देउसी खेल्ने परम्परा छ । तर यसपाली भने विगत जस्तो तिहारको रौनक गाउँ, शहरमा देखिएको छैन । कोरोना प्रभावका कारण सोचे जसरी पर्वहरु मनाउन नपाए पनि आफ्नो अवस्था अनुकूल तिहार मनाउनेहरुको भने कमी छैन ।

प्रकाशित: ३० कार्तिक २०७७ ०६:०९ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी