काठमाडौं । सहप्राध्यापक एवं संगीतज्ञ मनोहर गोपाल गुर्वाचार्यद्धारा लिखित शोधग्रन्थ (पुस्तक) ‘नेपाली संगीतकोे विकासक्रम’ विमोचन गरिएको छ । वरिष्ठ संस्कृतिविद् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन तथा लोकार्पण गरेका हुन् ।
पुस्तकमा ललितपुर, काठमाडौं र भक्तपुरका दफा र मृदङ्ग भजन मण्डलहरुमा गाउँदै आएका प्राचीन तथा मौलिक गीत संगीतलाई समेटिएको छ । त्यसबाहेक विगत ४ सय वर्षदेखि निरन्तर रुपमा ज्येष्ठ पूर्णिमाका दिन मंगलबजार कात्र्तिक डबलीमा गाउँदै आएका कृष्णभक्त कवि राजा सिद्धिनरसिंह मल्लाका गीतहरु समेत पुस्तकमा समावेश छन् ।
त्यस्तै विश्व प्रसिद्ध चर्या नृत्य नेपालमा श्रृजना भएको तथ्य आठौं शताब्दिको अन्त्य तिर लेखिएको ‘हेबज्रतन्त्र’ ग्रन्थको आधार पनि प्रस्तुत गरिएको छ । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष जोशीले यस्तो किसिमको पुस्तकले देशभित्र संगीतको विधालाई फड्को मार्न ठूलो मद्दत पु¥याउने बताए ।
कार्यक्रममा लेखक गुर्वाचार्यले काठमाडौं उपत्यकाभित्र रहेको प्रचिन संगीतलाई अनुसन्धान गरी पुस्तकमा समेटने प्रयास गरेको बताएका थिए । करिब १ हजार वर्ष पहिला नै विश्वबाट लोप भइसकेका ‘जातिगान’ का क्रियात्मक स्वरुप र शैली जस्ता अमूल्य सांस्कृतिक धरोहरहरु अहिलेपनि नेपाली समुदायमा संरक्षित भई व्यवहारमा आइरहेकाले त्यस्ता संगीतलाई पुस्तकमा समेटिएको छ । लेखक गुर्वाचार्यले यसबाट परम्परागत संगीतको क्षेत्रमा ठूलो उपलब्धि हुने र देशको छवि विश्वसामु उजागर गर्न सफल हुने विश्वास समेत गरे ।
प्रकाशित: १ मंसिर २०७७ १३:१४ सोमबार