पाल्पामा टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा ।

निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ज्यामिरेको भुटुकेबाट चुनढुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना ८ ख ७९०५ नम्बरको टिपर मोटेखर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका १३ का ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रुप्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढबहादुर थापाले जानकारी दिए।

सामानसहितको टिपर सडकबाट करिब १० मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते

गण्डकी प्रदेश अन्तर्गत मंगलबार नवलपरासी (पूर्व) र तनहुँमा भएका दुर्घटनामा तीन जना घाइते भएका छन् ।

नवलपरसी (पूर्व) कावासोती नगरपालिका–१७ बरौलीस्थित भित्री सडकखण्डमा बरौलीबाट गोछडातर्फ जाँदै गरेको ना २१ प ७१०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४६ प ८६९४ नम्बरको स्कुटर एकापसमा ठोकिंदा स्कुटर चालक कावासोती नगरपालिका–१५ शेरगन्जका जीतबहादुर मर्दिनया र मोटरसाइकल चालक सोही नगरपालिका–१७ का निमबहादुर लामिछाने घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

त्यस्तै तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित पृथ्वी राजमार्गमा गोरखाबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६७ नम्बरको बसबाट मान्छे ओराल्ने क्रममा बसमा सवार म्याग्दे–७ का सोनम थापा अगाडिको ढोकाबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापालाई थर्पुस्थित म्याग्दे पोलिक्निकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको छ ।रासस

प्रकाशित: ३ मंसिर २०७७ ०७:३४ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी