काठमाडौं ।
आज मार्गशीर्ष शुक्ल पूर्णिमा किराँत समुदायले किराँत पर्व उधौली सकेला धुमधामसँग मनाउँदैछन् ।
याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बुहरुको चासोक तङ्नाम देशभर मनाइँदैछ । किराँत भित्रका जातजातिले यो पर्वलाई फरकफरक नाम दिएपनि समग्रमा उधौलीका नामले चिनिन्छ । किराँत समुदायले अन्नबाली पाकेपछि आफ्ना इष्टदेवतालाई चढाउने, पितृलाई स्मरण गर्ने र अन्नबाली खानका लागि इष्टदेवतासँग अनुमति माग्ने पर्वको रुपमा उधौली सकेला भनिन्छ ।
बाली लगाउने बेला अर्थात् वैशाख पूर्णिमाका दिन उभौंली अर्थात यावा पर्व मनाइने प्रचलन पनि रहेको छ । देशका विभिन्न ठाउँबाट काठमाडौं आई बसेका किराँत समुदायका मानिसहरुले आज ललितपुरको हात्तीवनमा रहेको किराँतकाल देखिएको ऐतिहासिक धार्मिक तिर्थस्थलमा पुगि पूजाआजा गरेर किराँत चाड विशेष रुपमा मनाएका छन् ।
उधौली पर्वलाई किराँत समुदायले प्रकृतिसँग समेत जोड्दै आएका छन् । उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकोमा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने विश्वास समेत किराँत जातिमा रहेको छ ।
किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल हात्तीवनमा विशेष रुपमा पूजाआज गरेपछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाच, सकेला लगायतका नाच नाचेर मनोरन्जन गर्छन् । तर यसवर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण किराँत जातिले विशेष पूजा मात्रै गरेका छन् । अन्य संस्कृतिक कार्यक्रम नगर्ने भएका हुन् ।
प्रकाशित: १५ पुष २०७७ १३:२५ बुधबार