उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने


काठमाडौं ।

ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो ।

सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए । “प्रविधिमार्फत ट्राफिक जनचेतना अभिवृद्धि कार्यलाई व्यापक बनाउँछौँ”, उनले भने ।

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ । सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री गर्ने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख ढकालले तेस्रो चरणको युवा स्वयंसेवक परिचालन कार्यक्रम व्यापक बनाउँदै लैजाने बताए। विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क बनाउनका लागि पहल गर्ने उनको भनाइ थियो । उनले रुट अनुमति वितरण प्रणालीमा सुधार र व्यवस्थापनको लागि समन्वय र अध्ययन गर्नुका साथै ज्येष्ठ नागरीकलाई सार्वजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एवं पहल गरिने उल्लेख गरे । महाशाखाले ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरी पूरा गरिनेसमेत बताएको छ ।
रासस

Logo