काठमाडौँ
दलित भएको कारण दर्शाएर दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् । इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार विश्कर्माले भने – “दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ । भाडा स्वरुप अग्रिम दुई हजार ५०० दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुव्र्यवहार गरियो ।”
कोठा भाडाको बैना आफूहरुले दिइसकेकाले बस्न पाउनु पर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताएर धम्क्याएको विश्वकर्माको भनार्इ छ । पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरु माथि दुव्र्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजायँ ऐन, ०६८ अनुसार घर मालिक गौतम दम्पती माथि कारबाहीको माग समेत गरेका छन् ।
रासस
प्रकाशित: २२ फागुन २०७४ १९:५५ मंगलबार