काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी

काम नगर्ने मन्त्री फेर्ने प्रधानमन्त्रीको चेतावनी


काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउन यता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजना अनुसार काम नगर्ने÷नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका हुन्। प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे । उनले कामको समीक्षा गर्दै देश र जनताको चाहना अनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिए ।

‘खासगरी भौतिक योजना, सहरी, सिँचाइ, खानेपानी मन्त्रालयतर्फ प्रधानमन्त्रीको असन्तुष्टि देखियो’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले ५० औं साना–मसिना काममा अल्झिने तर दुईवटा राष्ट्रिय गौरवका परियोजना सक्नेतर्फ नलाग्ने हो भने त्यो मन्त्रीले काम गर्न सक्दैन भन्ने निष्कर्ष हुन्छ, ध्यान दिनु होला ।’

प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय र मन्त्रालयभित्रै पनि समन्वय हुन नसकेको भन्दै असन्तुष्टि पोखे। उनले मन्त्रीहरुलाई एकले अर्कालाई दोष थोपरेर उम्कने बाटो नखोज्न चेतावनी दिँदै भने, ‘फाइलहरु छिटो–छिटो अगाडि बढाउनुस्, अन्तरमन्त्रालय समन्वय गर्नुस्, कहाँ के बिग्रेको हो त्यसलाई तुरुन्तै ध्यान दिनुस्। अहिलेसम्म आधार वर्ष भनेर जोगिनु भएको छ। अब पनि बाहानाबाजी बनाएर काम नगर्ने हो भने त्यसमा पुनर्विचार गर्नै पर्छ।’
नागरिकबाट

Logo