चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली

चौतर्फी घेराबन्दीमा प्रधानमन्त्री ओली


काठमाडौं ।

सरकारका काम कारवाहीमा तालमेल र बाहिर सम्बन्धहरु व्यवस्थापनका कमजोरीले प्रधानमन्त्री केपी शर्मा ओली आफैं विस्तारै घेराबन्दीमा पर्दै गएको संकेत देखिन थालेका छन् । प्रधानमन्त्री बन्दै गर्दा उनले नागरिकलाई धेरै सपनाहरु देखाएका थिए । ती सपनाहरु योजनामा नबदलिदा अहिले प्रधानमन्त्री ओलीलाई अप्ठेरो पर्दै गएको देखिएको छ । उनको पार्टीदेखि सडकसम्म भइरहेको घटनाक्रम हेर्दा सबैको आक्रोश ओलीप्रति देखिन्छ । यसले ओली अप्ठेरोमा पर्दै गएका छन् । ओलीमाथि अहिले कहाँ कहाँबाट अप्ठेरो प्रकट भएको छ ? केही घटनाक्रमहरु हेरौँ :

१. पार्टीभित्र अल्पमतमा, प्रचण्ड–माधवको विरोध

प्रधानमन्त्री ओली सबैभन्दा अप्ठेरो पार्टीभित्रबाटै परेका छन् । अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल मिलेपछि ओली पार्टीमा अल्पमतमा छन् । उनले गरेका काममाथि प्रचण्ड र माधव समूहले प्रश्न उठाएको छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा ५ जना एकातिर छन् । उनीहरुले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन चाहेका छन् । तर, प्रधानमन्त्री ओली हट्न चाहदैनन् । ओलीलाई हटाउने योजना अन्तर्गत नै दाहाल र नेपाल समूहले स्थायी समितिको बैठकबाटै समस्या समाधान गर्ने अडान लिएका छन् । स्थायी समितिमा पनि ओली अल्पमतमा छन् । ओलीलाई सरकार सञ्चालन गर्न नसकेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, गुटबन्दी गरेको आरोप दाहाल नेपालले लगाएका छन् । पार्टी एकताका क्रममा सहमतिबाट अघि बढ्ने समझदारी तोडेको भन्ने पनि दाहाल नेपालको भनाई छ । यसरी ओली पार्टी भित्रबाट घेराबन्दीमा परेका हुन् ।

२. प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको सडकदेखि संसदसम्म विरोध

ओली सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेसको विरोध पनि बढ्दैछ । कांग्रेसले ओली सरकार असक्षम भएको भन्दै हिजो देशभरी सडक प्रदर्शन गर्यो । सडक प्रदर्शनमा देशभर कांग्रेसका केन्द्रीय नेताहरु खटिए । उनीहरुले सरकार भ्रष्टाचारमा संलग्न भएको, सुशासन दिन नसकेको भन्दै नाराबाजी गरे । अहिले संसद चलेको छैन । संसद खुल्ने वित्तिकै कांग्रेसले संसदमा पनि विरोध चर्काउने तयारी गरेको छ । प्रतिपक्षी दल कांग्रेसले यो भन्दा पहिले सरकारलाई अप्ठेरो पार्ने काम गरेको थिएन । अब प्रतिपक्षी दल पनि विस्तारै सरकारविरुद्धको घेराबन्दीमा उठ्न थालेको छ । त्यसैले ओली प्रतिपक्षबाट पनि घेराबन्दीमा पर्दै गएको मान्न सकिन्छ ।

प्रतिपक्षी दल कांग्रेसले यो भन्दा पहिले सरकारलाई अप्ठेरो पार्ने काम गरेको थिएन । अब प्रतिपक्षी दल पनि विस्तारै सरकारविरुद्धको घेराबन्दीमा उठ्न थालेको छ ।

३. पूर्वराजावादीको संगठित मोर्चाबन्दी

यही बेला पूर्व राजावादीहरु पनि संगठित भइरहेका छन् । उनीहरुले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता खारेजीको माग राखेका छन् । यो मागसँगै सरकारले राम्रो काम गर्न नसकेको कुरा पनि उठाउने गरेका छन् । संविधानका मुल विशेषतामाथि नै प्रश्न उठाउनेहरु संगठितरुपमा देशभरी उत्रिदा त्यसले पनि ओलीलाई अप्ठेरो परेको छ । राजावादीहरु सडकमा उत्रिने अवस्था आउनुमा सबैले ओलीमाथि नै दोष देखाउन थालेका छन् । राम्ररी सरकार चलाएको भए यस्तो अवस्था आउने थिएन भन्ने भनाई धेरैको देखिन्छ । पूर्वराजावादीहरुको संगठित प्रदर्शन पनि ओलीका लागि अर्को समस्या भएको छ ।

४. नेत्रविक्रम चन्दको हिंसात्मक गतिविधि

अहिले हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द महासचिव रहेको नेकपाले पनि आफ्ना गतिविधि बढाएको छ । यो समूहले मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गर्यो । यो हत्यापछि फेरि हिंसात्मक गतिविधि बढ्ने हो कि भन्दै मानिसहरु डराउन थालेका छन् । चन्द समूहले पनि यो सरकार र अहिलेको शासन सञ्चालनको शैली नै ठिक नभएको बताउँदै आएका छन् । चन्द समूहले गतिविधि बढाउँदा त्यसको दबाब ओलीमाथि छ । चन्द समूहलाई कस्तो रणनीति तय गरेर वार्तामा ल्याउने भन्नेमा सरकारबाट कुनै प्रयास भएको देखिदैन । चन्द समूहलाई वार्तामा ल्याउनुपर्ने त्यसमा सरकारले पहल नगरेकोमा ओलीमाथि धेरैबाट प्रहार छ ।

५. सुशासनमा कमजोर उपस्थिति, जनता आक्रोशित

प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले धेरै योजनाहरु अघि सारेका थिए । ती योजनाहरुलाई कार्यान्वयन गर्दै सुशासन कायम गर्ने भनेका थिए । तर जनताहरुले अनुभूति गर्ने गरी सुशासन पाउन सकेनन् । प्रधानमन्त्रीले भने अनुसारका योजनाहरुलाई कार्यान्वयन गरेनन् । यही बीचमा भ्रष्टाचार सम्बन्धि अन्तराष्ट्रिय प्रतिवेदनमा नेपालमा भ्रष्टाचार बढेको कुरा बाहिर आयो । भ्रष्टाचार गर्ने कुरालाई प्रधानमन्त्रीले प्रोत्साहन गरेको भन्ने पनि प्रतिवेदनमा आयो । सुशासन राम्रो नभएका कारण ओलीप्रति जनताको तहबाट पनि अब आक्रोश देखिन थालेको छ । त्यसैले सुशासन दिनेमा कमजोरीले पनि ओलीलाई अप्ठेरो परेको देखिन्छ ।

६. नक्सा जारीपछि छिमेकी देश भारतसँगको सम्बन्धमा चिसोपना

भारतले नेपालका भूभागलाई जोडेर नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सा जारी गर्यो । नक्सा जारी गरेपछि ओलीलाई सबै राजनीतिक दलहरुले समर्थन गरे । तर छिमेकी देश भारत रिसायो । भारतसँगको सम्बन्धमा त्यसपछि चिसोपन आएको छ । नेपालका राजनीतिक घटनाक्रममा भारतले चासो दिन्छ । त्यसैले अहिले भारतले पनि ओलीलाई रुचाएको छैन । भारतसँगको सम्बन्धमा आएको अप्ठेरोले पनि ओलीलाई समस्या पर्दै गएको छ । छिमेकीसँगका सम्बन्धले पनि ओलीलाई घेराबन्दी पारेको देख्न सकिन्छ ।

भारतसँगको सम्बन्धमा आएको अप्ठेरोले पनि ओलीलाई समस्या पर्दै गएको छ ।

प्रधानमन्त्री ओलीले अहिले देखापरेको घेराबन्दीका यी घटनाक्रमलाई कसरी पार लगाउँदै जान्छन् अहिले सबैतिर चासो छ । ओलीले पद छोडेर घेराबन्दीबाट बाहिरिन्छन् कि पदमै बसेर सामना गर्छन् यसप्रति पनि चासो छ ।

Logo