अब विद्य‌ुत‌् कटौतीको सूचना मोबाइल एप्सबाटै

अब विद्य‌ुत‌् कटौतीको सूचना मोबाइल एप्सबाटै


काठमाडौं । जापानमा २ मिनेट पनि बत्ति जाने भए उपभोत्तालाई पूर्व सूचना दिईन्छ । अमेरिकामा धारामा पानी नआउने भए २४ घण्टा अगावै सूचना दिईन्छ ।

नेपालमा भने दुई दिन पानी बिजुली नआउँदा के कारणले बन्द भयो भन्ने जानकारी पाउनै मुस्किल पर्छ । तर अब चिन्ता लिनुपर्दैन् । विजुली जानुपूर्व सूचना दिन नेपाल विद्युत प्राधिकरणले मोवाईल एप सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको हो ।

नेपाल इलेक्ट्रिसिटी अथोरेटी (एनइए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले विकास गरेको उक्त एप्लिकेशनले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको सहजै जानकारी दिनेछन्।

हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन्। एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ।

एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्ने हुन्छ। प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको छ।

प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ। यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ।

एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । त्यस्तै कुनै गुनासो वा सूचना भए पनि एप्लिकेशनबाटै जानकारी गराउन सकिनेछ। प्राधिकरणका सूचना, समाचार, बिलको जानकारी तथा प्राधिकरणका प्रकाशन तथा रोजगारीको सूचनासमेत उपलब्ध हुनेछ ।

यस्तै प्राधिकरणले सोही एप्लिकेशनलाई थप परिमार्जन गरेर कति दिनमा लाइन काटिँदैछ भन्ने कुराको जानकारी समेत दिनेछ। यस्तै के कति परिमाणमा विद्युत् महसुल उठ्यो, कति दिनमा तिर्नुपर्छ भन्ने विषयको समेत जानकारी प्राप्त हुनेछ।

त्यसैगरी प्राधिकरणको कुन स्थानको ग्राहकले कति पटक गुनासो गरे, कति पटक कुन स्थानको लाइन काटियो र के कसरी समाधान गरियो भन्ने विषयको समेत यथेष्ट जानकारी दिईनेछ ।

Logo