अध्यागमन सुधार्न गृहमन्त्रीको निर्देशन

अध्यागमन सुधार्न गृहमन्त्रीको निर्देशन


गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गरे । उनले भने, “विदेशीले नेपाल टेक्ने वित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण हुन्छ । पहिलो अनुभव नै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर काम गर्नुहोस् ।” 

विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकाले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए  ।
उनले भने, “यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी छ । पहिलो राष्ट्रिय सुरक्षाको, दोस्रो देशको अर्थतन्त्रको विकासको र तेस्रो मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।’ 

आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले स्पष्ट पारे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिए । 

विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडान गर्न काम अघि बढिसकेको जानकारी दिँदै छ महिनाभित्र अध्यागमन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए । सो क्रममा गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको अनुगमन गरेका थिए  ।

Logo