काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो जित दर्ता गराएको छ । "/>

नेपालको लगातार चौथो जित, भुटान ३३ रनमा समेटियो

नेपालको लगातार चौथो जित, भुटान ३३ रनमा समेटियो


काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो जित दर्ता गराएको छ । मलेसियामा जारी खेलमा नेपालले भुटानलाई फराकिलो अन्तरमा हराएको हो ।

नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटिएको छ। भुटानलाई सस्तैमा समेट्न क्रममा नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३-३ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए ।

४ ओभर बलिङ गरेका ललितले २ मेडन फाल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए । ४ ओभर बलिङ गरेका बसन्त रेग्मीले १ मेडनसहित ७ रन खर्चिएर ३ विकेट लिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले १३ रन खर्चिए।

यस्तै ४ बल बलिङ गरेका शरद भेसवाकरले १ विकेट लिए। भुटानका लागि तेन्जिङ वाङचुकले सर्वाधिक ११ रन बनाए। बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो। नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेलेका थिए । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे।

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे। करण केसीले ५ बलमा ११ रन जोडे। यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन्। यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो।

Logo