२० असार २०७९ सोमबार
1
1
1
1

उषाकला राई भन्छिन्, 'लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरी किरियापुत्री बसेकी हुँ'

1
1
1
1

खोटाङ । प्रदेश नं. १ की सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छन्।

आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्‍याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनको भनाई छ ।

आमाको निधनले शोकमा परेकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भएपनि ठूलो कुरा नभएको धारणा व्यक्त गरिन्।

‘समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागि कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ,’ उनले भनिन्, ‘जीवन दिने आमाको निधनले जति नै पीडा भए पनि मृत्यु स्वीकार गर्नुको विकल्प नभएकाले आफ्नै आत्मसन्तुष्टीका लागि र दिवङ्गतआत्माको चीर शान्तिका लागि कपाल मुण्डन गरेर किरियापुत्री बसेकी हुँ।’

दिक्तेलमा आयोजित पत्रकार भेटघाटमा सांसद राईले छोराले मात्र काजकिरिया गर्न हुने तर छोरीले नहुने भन्ने मान्यतामा परिवर्तन हुन जरुरी रहेको औँल्याइन्।

‘छोराछोरी दुवै सन्तान भएकाले छोरा र छोरी दुवैले बुबाआमाको काजकिरिया गर्न मिल्छ,’ उनले भनिन्, ‘सबै छोरीले कपाल मुण्डन गरेर र सेतो वस्त्र लगाएरै काजकिरियामा बस्नुपर्छ भन्ने नभइ आ–आफ्नो तरिका र इच्छा अनुरुप छोरीले पनि बुबाआमाको काजकिरिया बस्दा हुन्छ।’

मूलुकमा राजनीतिक परिवर्तन आए पनि सामाजिक, सांस्कृतिक तथा संस्कारमा परिवर्तन आउन नसकेकाले अबको पहिलो काम सामाजिक–सांस्कृतिक पाटो सुधार गर्नुपर्ने सांसद राईले बताइन्।

उनकी आमा लक्ष्मी राईको ७५ वर्षको उमेरमा गत पुस २५ गते निधन भएको थियो। काठमाडौंमा पाँच दिन काजकिरियामा बसेकी सांसद राईले जन्मथलो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आएर सात दिन बसेर काजकिरिया पूरा गरिन्।

सासुको काजकिरियाका लागि सांसद राईका श्रीमान पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि खोटाङ आएका थिए।

सांसद राईले आमाको स्मृतिमा प्रतिष्ठान बनाएर हरेक वर्ष गरिब तथा असहाय बालबालिकाको शैक्षिक उन्नतिका लागि सहयोग गर्न अक्षयकोष स्थापना गरेकी छन्। रासस

प्रकाशित: १० माघ २०७५ १४:०० बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी