‘म चुनावबाट पछि हट्नेवाला छैन’–किशोर प्रधान, उमेद्वार वरिष्ठ उपाध्यक्ष (उद्योग वाणिज्य महासंघ)

‘म चुनावबाट पछि हट्नेवाला छैन’–किशोर प्रधान, उमेद्वार वरिष्ठ उपाध्यक्ष (उद्योग वाणिज्य महासंघ)


काठमाडौं ।

यतिबेला नेपाल उद्योग वाणिज्य महासंघ ५४ औँ साधारणसभा तथा निर्वाचनले माहोल तातेको छ । कोरोना भाइरसको संक्रमणका कारण महासंघको निर्वाचन सरेर मंसिर ११, १२ र १३ गते पुगेको छ । यसै निर्वाचनका लागि उमेद्वारहरु दौडधुप गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षका उमेद्वार उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान रहेका छन् । वरिष्ठ उपाध्यक्षका उमेद्वार प्रधानसँग केन्द्रबिन्दुले छोटो कुराकानी गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, केन्द्रबिन्दुका लागि कमला अर्यालले गरेको कुराकानीको सम्पादित अंशः

चुनाव त नजिकिँदैछ, तयारी कहाँसम्म पुग्यो ?

चुनावको तयारी भइरहेको छ । जबसम्म चुनावको सम्पूर्ण प्रक्रिया पूरा हुँदैन तबसम्म तयारीका कामहरु भइ नै रहन्छन् । प्रचार प्रसारका लागि सबैको दौडधुप चलिरहेको छ । परिणाम भगवानको हातमा छ । हामीले कोरोनाका विचमा पनि प्रचारप्रसार गरिरहेका छौँ । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर प्रचारप्रसारको काम गरिरहेका छौँ । सामाजिक दुरी पनि कायम गरेका छौँ । तर चाहँदा चाहँदै पनि भने अनुसारको मापदण्ड पूरा हुन सकिरहेको छैन । चुनावका लागि त महासंघले स्वास्थ्य सम्बन्धी क्राइटएरिया बारेमा गृहकार्य गरिरहेको छ ।

कहाँ कहाँ जानु भयो, प्रचारप्रसारका लागि ?

नेपाल अधिराज्यभरि कहि पनि बाँकी छैन, प्रचारप्रसार गर्नका लागि । जहाँ जहाँ हाम्रा उद्योग व्यवसायी साथीहरु हुनुहुन्छ, उहाँहरु भएको ठाउँमा हामी पुगेका छौँ । पहिले पनि प्रचारप्रसार गरिसकेका छौँ । र अब दोहोर्याएर तेर्याएर पनि जाँदैछाैँ ।

तपाईंलाई सबै ठाउँबाट सहयोग हुन्छ ?

मलाई सहयोग र सपोर्ट आउँछ भनेर नै मैले उमेद्वारी दिएको हुँ । मलाई जिल्ला/नगर र वस्तुगतको सपोर्ट छ । हामीले शतप्रतिशत पकड बनाएको अवस्था छ । यस पटकको जीत कस्तो हुन्छ भने हल्ला गरेर र पैसाले चुनाव जितिने होइन । हाम्रा भोटर्सहरुले तपाईंको २८ वर्षको मेहनत खेर जान दिन्नौँ भन्नु भएको छ । उहाँहरुबाट मलाई जिताउने आश्वासन पाइसकेको छु र मलाई पूर्ण विश्वास पनि छ उहाँहरुले मलाई अवश्य जिताउनुहुन्छ ।

भनेपछि तपाईंले महासंघको वरिष्ठ उपाध्यक्षमा बाजी मार्ने पक्का छ ?

मेरो जीत हुनेमा कुनै पनि शंका छैन । तपाईंलाई म एउटा कुरा भन्छु । मैले निश्चित रुपमा जितेर तपाईंले मलाई जितको बधाइ पनि दिनुहुन्छ र तपाईंले मलाई प्रश्न पनि गर्नुहुन्छ र म त्यो प्रश्नको जवाफमा त्यहि कुरा भन्छु कि सम्पूर्ण उद्योग व्यवसायी साथीहरुको सहयोगले मैले जित्न सफल भएको हुँ भनेर । मैले बार बार भन्ने गरेको छु ,महासंघ मन्दिर हो र त्यो मन्दिरको म पूजारी हुँ । त्यो मन्दिरमा देवताहरु हुनुहुन्छ । मैले उहाँहरुको पूजा धेरै वर्षदेखि नै गरिरहेको छु । त्यसैले कुनै पनि हालतमा मलाई आर्शिवाद दिन छोड्नु हुन्न र त्यहि आर्शिवाद र उद्योगी व्यवसायीको मत प्राप्त गरेर मैले जित्नेछु । जितेर शेखर गोल्छालाई सघाउनेछु ।

कोरोना संक्रमण बढेका कारण पूर्वअध्यक्षहरुले सहमतिमै उमेदवार चुन्ने प्रयास गरिरहेका छन् । सहमति जुट्ने सम्भावना कत्तिको छ ?

हो उहाँहरु सहमतिका लागि लाग्नु भएको छ । उहाँहरुको काममा म पूर्ण रुपले समर्थन र सहयोग गर्छु । कोरोनाका कारण नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको छ । महासंघ नीजि क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन हो । त्यसैले मुलुकको आर्थिक विकासका लागि पनि सहमतिमा जानुपर्छ भन्ने लागेर नै उहाँहरुले सहमतिको प्रयास गर्नुभएको हुन सक्छ । यो अति उत्तम विचार हो । त्यसैले मेरोतर्फबाट कुनै पनि बाधा अड्चन हुने छैन । सहमति गर्दा उहाँहरुले पनि एउटा क्राइटएरिया बनाउनुहुन्छ होला । त्यहि आधारमा छान्ने हो उमेद्वार । मलाई लाग्छ, उहाँहरुले राम्रो कुरा गर्नुभएको छ ।

सहमतिबाटै तपाईंलाई छोड्न भने निर्वाचन छोड्नु हुन्छ ?

उहाँहरु (पूर्वअध्यक्षहरु)ले जे निर्णय गर्नुहुन्छ, सोचेर सम्झेर गर्नुहुन्छ । मलाई विश्वास छ कि उहाँहरुले कुनै पनि निर्णय गलत गर्नु हुन्न । उहाँहरुले गरेको सही या गलत जस्तो निर्णय भएपनि मान्नु पर्ने हुन्छ । मैले के गर्छु के गर्दिन भन्ने अवस्था छैन । उहाँहरुले गरेको कुनै पनि निर्णयलाई म सम्मानसाथ मान्न तयार छु ।

तपाईंहरुले महासंघमा उमेद्वारी घोषणा गरेसँगै तपाईंलाई निर्वाचनबाट पछि हट्नु हुन्छ भन्ने धेरै चर्चा छ नि । वास्तविकता के हो ?

यो चर्चा भनेको बुद्धि र विचार पु¥याएर गरिएको इच्छा चर्चा हो । यस्तो चर्चा पटक्कै पनि राम्रो र फाइदाजनक छैन । मैले सुने अनुसार साथीहरुले तल्लोस्तरको व्यवहार देखाउनु भयो । मैले कसरी छोड्छु भनेर उहाँहरु (ढकाल प्यानल)ले भन्न सक्नु हुन्छ ? मैले छोड्छु भन्ने आधार त उहाँहरुले दिनुपर्यो नि । फेरि न्यायका मूर्तिहरु (पूर्वअध्यक्षहरु) ले तैँले यो यो गल्ती गरिस् भन्नु पर्यो र सजायँ दिनुपर्यो । मलाई कसले के भन्छ भन्नेसँग पनि कुनै मतलव छैन । मलाई मतलब र सरोकार त्यतिबेला हुन्छ, जतिबेला म न्यायका मूर्तिहरु समक्ष उभिन्छु । न्याय गर्ने मूर्तिको पनि न्याय गर्ने क्षमता हुनुपर्छ । न्याय गर्ने क्षमता छैन भने कति शुद्ध र कति अशुद्ध हो भन्ने थाहा हँदैन । त्यसैले न्याय मूर्तिहरुको विचारै नआइकन यस्ता प्रचारबाजी गर्नु मूर्खता मात्रै हो । उहाँहरुले यो मूर्खता नगरे हुन्छ । उहाँहरुको यस्तो कुरा मान्न म तयार छैन । त्यस्तो अज्ञानीले भन्ने कुरा हो । गलत कुराको प्रचारप्रसार नगर्न पनि अनुरोध गर्छु ।

यसअघिका उमेद्वारहरुले साना व्यवसायीहरुलाई बेवास्ता गरे भन्ने आरोप छ,तपाईंहरु के गर्नुहुन्छ ?

मेरो त एजेण्डा नै साना व्यवसायीहरुलाई मध्यम बनाउने र मध्यम व्यवसायीलाई ठूलो बनाउने हो । अहिलेको वास्तविक अवस्था भनेको ठूला व्यवसायीले साना व्यवसायीलाई थिचेर राखेको अवस्था हो । मध्यम र साना व्यवसायीलाई थिचेर राखिएको छ । साना व्यवसायीहरु माथि आए भने उनीहरुलाई अप्ठेरो पर्छ भन्ने थाहा छ । त्यसकारण मध्यम र साना व्यवसायी सधैं थिचिन्छन् ,मिचिन्छन् । प्रतिस्पर्धामा साना तथा मध्यम व्यवसायीलाई जुन दबाएर राख्ने प्रवृत्ति छ, त्यसको ज्वलन्त उहाहरण एउटा बैंक पनि हो । आफैं मात्रै माथि आउनुपर्छ भन्ने मान्यता र मानसिकताका कारण साना तथा मध्यम व्यवसायीहरु कहिल्यै पनि माथि उठ्न नसकेको अवस्था हो । मतदाताले आफूखुशी मतदान गर्न पाउनुपर्छ । उनीहरुलाई प्रेसर दिने काम गर्नु हुँदैन । यही समस्यालाई साना तथा मध्यम व्यवसायले बुझेको छ । म उहाँहरुको रगरगमा बसेको छु । मैले उहाँहरुलाई माथि उठाउन सबै प्रकारका व्यापार व्यवसायको प्रवर्धन गर्छु । र ठूला व्यवसायलाई पनि अझै ठूलो बनाउने प्रयास गर्छु । यो काम म बाट मात्रै सम्भव छ । किनकी मैले यो स्तरका सबै समस्या बझेको छु ।

कोरोना संक्रमणका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यवस्त छ । अर्थतन्त्र माथि उकास्न तपाईंहरुको भूमिका के हुन्छ ?

अर्थतन्त्र उकास्ने कुरा गरिरहँदा कोरोनाका कारण अहिले बढी सम्भावना कृषि क्षेत्रमा देखिन्छ । हुन त कृषिमा सधैँ सम्भावना छ । त्यसैले कृषिलाई आधार बनाएर अर्थतन्त्र उकास्ने योजनामा हामी छौँ । यसै विषयमा सरकारसँग पनि गृहकार्य चलिरहको छ । अब महासंघको अध्यक्ष हुने शेखर गोल्छाको नेतृत्वले सबैभन्दा पहिले त्यहि कामलाई टुंगो लगाउँछ । र नेपालका व्यवसायीलाई कृषितर्फ लगाउँछौँ । कृषिलाई व्यवसायिकीकरण गर्ने वित्तिकै खाद्यान्न लगायतका कृषि उपजको आयात कम हुने र वैदेशिक मुद्राको बचत भई अभाव हुन पाउँदैन । जसले ब्यापार घाटालाई पनि कम गर्न ठूलो भूमिका खेल्छ । साना मध्यम तथा ठूला व्यवसायीलाई त्यसतर्फ लगाउँछौँ र कृषिलाई पूर्णरुपमा आधुनिकीकरण र व्यवसायिकीकरण गर्दै देश विकासमा हातेमालो गछौँ ।

Logo