आपराधिक समूहको गोलीबाट मारिएका हाइप्रोफाइल नेपाली (भिडियो सहित)

आपराधिक समूहको गोलीबाट मारिएका हाइप्रोफाइल नेपाली (भिडियो सहित)


विदुर खतिवडा । काठमाडौं, २७ असोज ।

गत असोज २३ गते सोमबार अपरान्ह सिङ्गो नेपाल झस्कियो । जंगलको आगो सरी एउटा समाचार सर्वत्र फैलियो– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरियो । नयाँ बानेश्वरमा भएको यो हत्याकाण्ड कसले र किन रचायो भन्ने प्रश्नको जवाफ कतैबाट आएन, अहिलेसम्म पनि आउन सकेको छैन ।

त्यसो त दिनदहाडै गोली लागेर मारिने हाइप्रोफाइल नेपाली व्यक्तिहरूमा शरदकुमार गौचन पहिलो भने होइनन् । उनीभन्दा अघि यसैगरी आपराधिक समूहको गोली खाएर धेरैजनाले असय मै मृत्युको गाँस बन्नुपरेको छ । प्रस्तुत रिपोर्ट यही विषयमा केन्द्रित छ, ‘गैर–राजनीतिक विवादमा गोली खाएर मारिएका हाइप्रोफाइल नेपाली ।’ अर्थात्, ‘अपराधिक समूहको गोलीबाट मारिएका हाइप्रोफाइल व्यक्तित्व’ ।

१) जमिम शाह : २०६६ माघ २४ गते, लाजिम्पाट (काठमाडौं)

जमिम शाह सञ्चार उद्यमी थिए । उनी स्पेसटाइम नेटवर्क र च्यानल नेपाल टेलिभिजनका अध्यक्ष थिए । विभिन्न धम्कीहरूबीच पनि उनी सहज जीवन यापन गरिरहेका थिए ।

त्यो दिन २०६६ माघ २४ गतेको जाडो याम थियो । दरबार मार्गमा अवस्थित होटल याक एन्ड यतिमा संचालित हेल्थ क्लबमा फ्रेस भएर पानीपोखरीस्थित निवास फर्किदै गर्दा लाजिम्पाटमा फ्रान्सेली दूतावास अगाडि अप्रत्याशित रूपमा जमिममाथि गोली प्रहार भएको थियो । उनको हत्यामा भारतीय अन्डरवल्र्ड डन छोटा राजन समूहको हात रहेको चर्चा थियो र अझै छ ।

त्यस दुर्भाग्यपूर्ण दिनमा ना १ च २१५१ नम्बर गाडीमा जमिम र उनका चालक मथुरामान मालाकार यात्रारत थिए । त्यहीबेला बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुईजना सार्पसुटरले गोली हानेर जमिमको हत्या गरेका थिए । गोली शाहको बायाँ कन्चट र बायाँ कोखमा लागेको थियो । गोली लागेका शाहलाई शिक्षण अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा पु¥याए लगत्तै उनको निधन भएको थियो । प्रहरी अनुसन्धानको क्रममा केही वर्षपछि घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

२) मिर्जा दिलसाद बेग : २०५५ असार १५ गते, सिफल (काठमाडौं)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवं पूर्व मन्त्री मिर्जा दिलसाद बेगको २०५५ असार १५ गते राजधानीको सिफलमा विभत्स हत्या भएको थियो । उनी मर्दैनन् कि भनेर सुटरहरूले उनको शरीर धुजा–धुजा हुने गरी गोली प्रहार गरेका थिए । मिर्जा हत्या प्रकरणको सुराक नखुलोस् भनेर उनका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो ।

मिर्जाको हत्यामा पनि भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहको संलग्नता देखिएको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो । प्रहरीका अनुसार अर्का कुख्यात भारतीय अन्डरवल्र्ड डन दाउद इब्राहिमका लागि काम गर्ने भन्दै छोटा राजन समूहले उनको हत्या गरेको थियो । यसबारे अनुसन्धान गर्न खडा गरिएको उच्चस्तरीय न्यायिक समितिले पनि मिर्जाको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारसमक्ष बुझाएको थियो ।

३) रणबहादुर बम : २०६९ जेठ १८, शंखमूल (ललितपुर)

कुम्भेश्वर मन्दिर दर्शन गरेर फर्किने क्रममा शंखमूल पुल नजिकैको मार्गमा हत्या गरिएको थियो, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको । २०६९ जेठ १८ को यो घटनामा न्यायाधीश बमसँगै रहेका अन्य एकजना गोली लागी घाइते भएका थिए । न्यायिक क्षेत्रका उच्चपदस्थ अधिकारी दिनदहाडै मारिनुले त्यसबेला राजधानीवासी नै त्रसित भएका थिए ।

घटनाको अढाइ वर्षपछि प्रहरी अपराधमा सामेल भन्दै चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा, शिव भनिने करण चौधरी, नविन भनिने प्रेमराज खड्का र दीपक कर्णलाई हिरासतमा लिन सफल भयो । रणबहादुर बम हत्याकाण्डमा संलग्नमध्ये सार्पसुटर रामेछाप खनियापानीका सञ्जय स्माइली मगरलाई २०७२ भदौमा साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

दिनदहाडै भएका हत्याकान्डहरूमध्ये प्रहरीले अपराधी पक्राउ गर्न पूर्ण रूपमा सफलता पाएको यो एक मानिन्छ ।

४) फैजान अहमद अन्सारी : २०६८ असोज ९ गते, घन्टाघर (काठमाडौं)

इस्लामी संघ नेपालका महासचिव फैजान अहमद अन्सारी मस्जिदमा नमाज पढेर फर्कंदै थिए । घन्टाघर अगाडि हेल्मेट र वर्षादी लगाएर आएका अज्ञात व्यक्तिले तीन राउन्ड गोली हानेर उनको हत्या गरे । टाउको, घाँटी, छाती र कोखामा उनलाई गोली हानिएको थियो । गोलीले उनको शरिरमा १५ वटा प्वाल बनाएको थियो । तत्कालै उनलाई वीर अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले घटनास्थलमै उनको मृत्यु भइसकेको बताएका थिए ।

फैजान हत्या प्रकरणमा भारतीय कन्ट्याक्ट किलरको प्रयोग भएको प्रहरी अनुसन्धानको निष्कर्ष थियो । छानविन समितिका संयोजक पूर्व न्यायाधीश राजेन्द्र कुमार भन्डारीले बुझाएको प्रतिवेदनमा जेलभित्र युनुस अन्सारीलाई गोली हान्ने र फैजानको हत्यामा संलग्न समूह एउटै भएको उल्लेख छ । फैजान हत्यामा २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरिए पनि मुख्य अभियुक्त अझै फरार छन् । सुनसरी भोक्राहाका ३६ वर्षीय अहमद काठमाडौं सामाखुशीमा बस्दै आएका थिए । फैजानलाई गोली हानिएको स्थानबाट ३० मिटरको दूरीमा महानगरीय प्रहरी आयुक्तको कार्यालय छ ।

५) कमलसिंह नेपाली : २०६३ भदौ २४ गते, नयाँ बानेश्वर (काठमाडौं)

भारतको कुख्यात अपराधिक समूह छोटा राजनका लागि काम गरेको भनिएका कमलसिंह नेपालीको २०६३ भदौ २४ गते नयाँ बानेश्वरमा छोटा राजन समूहबाटै गोली हानी हत्या गरियो । सुरुआतमा छोटा राजन समूहमा काम गर्ने उनी पछि दाउदका लागि काम गर्न थालेपछि छोटा राजन समूहकै निर्देशनमा हत्या गरेको बताइन्छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका कमलसिंह छोटो समयमै छोटा राजन समूहका लागि काम गर्न थालिसकेका थिए । कमलसिंह काठमाडौं भएको अवस्था पारेर सुनियोजित तवरमा उनको हत्या गरिएको थियो । दाउद समूहको निर्देशनमा राजन समूहका सदस्यको हत्या गरेको प्रतिशोधमा उनी मारिएका थिए । उनका हत्यारा अहिलेसम्म पनि पक्राउ परेका छैनन् ।

६) अन्जनी कुमार चाचान : २०६७ चैत २७ गते, गणबहाल, (काठमाडौं)

काठमाडौं गणबहालस्थित एभी इन्टरप्राइजेज लेडिज ब्याग होलसेल पसल संचालक अन्जनी कुमार चाचानलाई उनकै पसलभित्र दुई व्यक्तिले गोली प्रहार गरेका थिए । बेलुका ७ बजेको हाराहारीमा उनीमाथि गोली प्रहार गरिएको थियो । उपचारको क्रममा वीर अस्पतालमा चाचानको मृत्यु भएको थियो । हुन्डीको कारोबारमा संलग्न भएको भनिएका चाचानसँग हुन्डीको दुई करोड रुपैयाँ छ भन्ने आधारमा अपराधिक समूह लुट्ने नियतले आएको बताइएको थियो ।

चाचानको हत्यामा संलग्न भएका भिमसेनगोला स्थायी ठेगाना भएका निरज केसी र टेबहाल ठेगाना भएका सुनील महर्जनलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको थियो । उक्त हत्याकान्डमा संलग्न राजु डंगोल र अशोक गोले यसअघि नै पक्राउ परिसकेका थिए ।

७) प्रेमकृष्ण महर्जन : २०६७ माघ १० गते, टेकु (काठमाडौं)

एक्साइड ब्याट्री टेकु हत्याकान्डको रूपमा परिचित प्रेमकृष्ण महर्जन हत्या प्रकरणका अभियुक्त अन्जनी कुमार चाचान हत्याका आरोपितहरू नै थिए । २०६७ माघ १० गते एक्साइड ब्याट्रीको टेकुस्थित सो–रुममा व्यवसायी प्रेमकृष्ण महर्जनलाई गोली प्रहार गरिएको थियो । उपचारको क्रममा वीर अस्पतालमा उनको मृत्यु भयो ।

प्रेमकृष्णको हत्या गर्ने समूहले पाल्पाका सुदिप बस्याललाई पनि एक राउन्ड गोली प्रहार गरेको थियो तर उनी बाँच्न सफल भए । महर्जन हत्या प्रकरणमा संलग्न राजु डंगोल, सुनील महर्जन, अशोक गोले, निरज केसीलाई प्रहरीले पक्राउ गरिसकेको छ । मृतक महर्जनसँग राजु डंगोलको व्यक्तिगत रिसइबीका कारण हत्या गरिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

८) सुरेश यादव : २०६९ जेठ १६ गते, सिर्सिया (जनकपुर)

नेपाल रेल्वेका महाप्रबन्धक ४५ वर्षीय सुरेश यादवको २०६९ जेठ १६ गते गोली हानी हत्या गरिएको थियो । नेपालको एकमात्र रेल्वेका महाप्रबन्धक यादवको छातीमा गोली हानिएको थियो ।
धनुषाको तारापट्टी सिर्सियामा रहेको आफ्नै घरमा बसेर कुराकानी गरिरहेका बेला आधा दर्जन बढीको संख्यामा आएको हतियारधारी समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । गोली लागेर अन्य ४ जना घाइते भएका थिए । महाप्रबन्धक यादव केही दिनअघि मात्रै काठमाडौंबाट जनकपुर पुगेका थिए । स्थानीय केही व्यक्तिसँग उनको रिसइबीका कारण उक्त हत्या भएको हुनसक्ने प्रहरीको पूर्वअनुमान थियो ।

९) माजिद मनिहार : २०६४ असोज १९, नेपालगन्ज (बाँके)

भारतीय संचारमाध्यमले ‘करेन्सी किङ’को नामले चिनाउने गरेका माजिद मनिहारको नेपालगन्जस्थित लालीगुराँस होटलको १०५ नम्बर कोठामा २०६४ असोज १९ गते साँझ हत्या भयो । भारतीय नागरिक मनिहार विभिन्न आपराधिक घटनामा संलग्न भएकाले भारतीय प्रहरीको मस्ट वान्टेडको सूचीमा पनि थिए । नक्कली भारतीय रुपैयाँको कारोबारीहरूकै मनमुटावबाट उनको हत्या भएको अनुमान गरिएको थियो ।

मनिहार उत्तरप्रदेश बहराइचका स्थायी बासिन्दा हुन् तर उनी नेपालगन्जको बागेश्वरी टोलमा बस्न थालेको २० वर्ष नाघिसकेको थियो । उनले नेपाली नागरिकतासमेत लिइसकेका थिए । नक्कली भारतीय नोटको कारोबार गर्ने सूचीमा नेपाल प्रहरीको तथ्याकंमा उनको नाम समाविष्ट थियो । उनका छोरा विक्की भारतीय नक्कली नोटको कारोबारको आरोपमा भारतमै पक्राउ परेका थिए । उनका छोरालाई जेलबाट छुटाइदिने भन्ने समूहले नै उनको हत्या गरेको बताइन्छ । मनिहार मुस्लिम इत्तेहाद संगठन बाँकेका जिल्ला उपाध्यक्षसमेत बनिसकेका थिए ।

१०) सौकत अली बेग : २०६६ पुस १० गते, बुटवल (रुपन्देही)

बुटवल–४ मैनाबगरमा परवेज ठान्डा भनिने सौकत अली बेगको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार व्यक्तिले गोली हानेर हत्या गरेको थियो । भारत उत्तरप्रदेश हयातगन्ज थाना टाडा जनपद अम्बेडकर नगर निवासी सौकत अली बेग नेपालको तौलिहवा जमुहार आएर सौकत बेग बनेका थिए । भारतमा हत्या, अपहरण र तस्करीका ४१ वटा मुद्दा उनको नाममा दर्ता थियो ।
भारतीय प्रहरीको खोजी तीव्र भएपछि सौकत १९९३ मा नेपाल छिरेका थिए । नेपाली नागरिकता बनाउन धेरै प्रयास गरे पनि सफल नभएपछि उनले आफ्नी श्रीमती नज्मालाई २०५३ साल फागुनमा कपिलवस्तुका युवक इकबालसँग विवाह गराइदिएका थिए । त्यसपछि भने उनी श्रीमतीको नेपाली नागरिकता बनाउन सफल भए । केही समयपछि इकबालसँग सम्बन्ध–विच्छेद गराई श्रीमती नज्माको नामबाट नेपालमा अवैध कारोबार संचालन गर्न थाले ।
सौकतको पुसमा हत्या भए पनि सोही वर्ष दशैंताका पनि हत्या प्रयास गरिएको थियो । सौकतको हत्या–प्रकरण पछि गएर मिर्जा दिलसाद बेग हत्या–प्रकरणसँग जोडिन पुग्यो । भारतीय डन बब्लु श्रीवास्तव समूहले उक्त हत्या गराएको भनियो । नदिम भनिने पान्डेजी र सफी बैदार सौकतको हत्या गर्न संलग्न रहेको श्रीमती नज्माले जिकिर गरिन् । सौकतको हत्यामा नक्कली रुपैयाँ कारोबार र अन्य थुप्रै कारण रहेको प्रहरी प्रशासनले जनाएको थियो ।

११) मेहमुद आलम : २०७० असोज १८ गते, बारा

दोस्रो संविधान सभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएको २४ घन्टा नबित्दै २०७० असोज १८ गते एमाले नेता मेहमुद आलमको गोली हानी हत्या भएको थियो । प्रहरीको अनुसन्धानपश्चात् एमालेका पूर्वसभासद रामचन्द्र प्यासी कुशवाहा तथा उनका दुई सहयोगी भारतीय नागरिकलाई सार्वजनिक गरिएको थियो । यो प्रकरणमा संलग्न भारतदेखि दुबईसम्मका ५ जनालाई प्रहरीले फरार घोषित गरेको थियो ।

कुशवाहा र आलमबीचको राजनीतिक प्रतिस्पर्धा हत्याको कारण भनिए पनि भित्री रूपमा अन्डरवल्र्ड समूहसँगको संदिग्धता पनि उजागर भएको थियो । प्रहरीका अनुसार, यो घटनाका निर्देशक दुबईमा रहेको र सबै व्यवस्था मिलाउने अर्का एक भारतमा छन् । त्यसो त काठमाडौं आएका बेलामा पनि दुईपटक उनको हत्या प्रयास भएको थियो । आलम ठानेर अर्का भारतीय नागरिक मोहम्मद समसुललाई जोरपाटीमा गोली हानिएको थियो ।

नक्कली मुद्रा कारोबार, भारतविरोधी गतिविधिमा लाग्नुले आलमको हत्या भएको जानकारहरू बताउछन् । दाउद इब्राहिम र छोटा राजन समूहको भूमिका पनि हुनसक्ने बताइन्छ । स्रोतका अनुसार, आलम दाउद र पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट भएकाले छोटा राजन समूहले उनको हत्या गरेको हो । नक्कली नोटको कारोबारमा संलग्न रहेको शंका गरिएका एमाले पूर्वसभासद कुशवाहाको गोप्य कुरा खोलिदिएकाले पनि मेहमुद आलमको हत्या भएको पछि खुलेको छ ।

१२) दुर्गा तिवारी : २०७३ पुस ४ गते, खैरहनी (देवदह, रुपन्देही)

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याकाण्डको जिम्मेवारी लिएको मनोज पुन समूहले २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको थियो । तिवारीको हत्या भएकै दिन मनोज पुन समूहले हत्याको जिम्मेवारी लिएको थियो । प्रहरी प्रतिवेदनले पनि नेपालबाहिर बस्दै आएका मनोज पुनले नै हत्या गरेको बताएको छ ।

पुनको योजनामा सोमबहादुर आले र श्याम गुरूङले नेपालमा बसेर तिवारी हत्याको योजना बनाएका थिए । हत्यामा बाबु भनिने तुलबहादुर सिंजाली, बसन्त बहादुर चापागाईं, बुद्धिसागर यादव, राजेश यादव, प्रयास भनिने खिमानन्द भट्टराई, सागर थापा, अंगद थारु र ऋषिकुमार कुमाल तिवारीले सघाएको प्रहरीको दावी छ । तिवारीलाई राजु नामका व्यक्तिले गोली हानेका थिए । तर प्रहरीले राजुको पूरा विवरण खुलाउन सकेको छैन ।

तिवारी चढेको मोटरसाइकललाई दुईजनाले पछ्याएका थिए । उक्त घटनाका मुख्य योजनाकार पुन, योजनाकार आले र गुरूङ, हतियार र गोली राखिदिने सिञ्जाली र सुटर भनिएका राजु फरार छन् । देब्रे कोखामा गोली लागेका तिवारीको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार, आर्थिक लेनदेन, ठेक्कापट्टा र व्यक्तिगत रिसइबी यो हत्याकान्डका प्रमुख कारण हुन् ।

थप जानकारीका लागि भिडियो हेर्नुहोला ।

 

Logo