खुलामञ्च खुला गर्दै काठमाडौँ महानगरपालिका

खुलामञ्च खुला गर्दै काठमाडौँ महानगरपालिका


काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई खुला गर्ने पहल सुरु गरेको हो ।  

‘मेयरज्यु (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेका छौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘राष्ट्रिय महत्वका सरकारी संरचना निर्माण हुने र निर्माण सामग्री राख्न ठाउँ अभाव भएपछि उहाँहरुले महानगरपालिकासँग गरेको आग्रह अनुसार नै ठाउँ उपलब्ध गराएको हो ।  कोभिड–१९ को कहर लगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो । दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा छ । अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ ।’

 पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्याली, आमसभा लगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेकोप्रति थप ध्यानाकर्षण भइ महानगरपालिकाले अझ छिटो भन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले प्राचीन कालदेखि काठमाडौँको खुला स्थलको पहिचान बनाएको खुलामञ्चलाई खुला नै छाड्ने बताए । भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायीरुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाइ छ । ‘भ्यु टावर निर्माणसँगै खुलामञ्चमा सरेको बसपार्क अहिले अस्थायीरुपमा सञ्चालनमा छ,’ ज्ञवालीले भने, ‘अस्थायी वसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्कसमेत खुला गर्नेसम्मको तयारी गरेको छ ।    

Logo