मिस नेवाः निर्धारित मितिभन्दा एक सातापछि

मिस नेवाः निर्धारित मितिभन्दा एक सातापछि


नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष निर्धारित मितिभन्दा १ सातापछि हुने भएको छ ।

नेवार समुदायका युवतीहरुका लागि नेप्लिज फेशन होमले आयोजना गर्दै आएको मिस नेवाः नेपाल यस वर्ष फागनु ७ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने पक्का गरे पनि सरकारले प्रजातन्त्र दिवससम्बन्धि कार्यक्रम प्रतिष्ठानमै गर्ने भएपछि एक साता पछाडिलाई सार्नु परेको फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा प्रजातन्त्र दिवससम्बन्धी कार्यक्रम तोकिएकाले अब १५ औं संस्करणको मिस नेवाः नेपाल ११४१ फागुन ७ को साटो फागुन १५ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।

मिस नेवाः का प्रतिस्पर्धीहरु मिस ट्यालेन्टलगायतका कार्यक्रम तथा विभिन्न तालीम, प्रशिक्षण र भ्रमणपछि अहिले अन्तिम प्रतिस्पर्धामा भिड्ने तयारीमा जुटेका छन् । मिस नेवाः नेपाल ११४१ मा १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दै छन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको हो । त्यस्तै फेसन होमले नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः पनि आयोजना गर्दै आएको छ । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको आयोजनकले जनाएको छ ।  

Logo