अपहरण गरेको आरोपमा बाबु र मामा पक्राउ

अपहरण गरेको आरोपमा बाबु र मामा पक्राउ


नगराइन नगरपालिका–६ गंगुलीका ६ वर्षीय चन्दन साहलाई अपहरण गरेको आरोपमा मामा लक्ष्मिनरायण शाहलाई प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणमा मामा साहसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले बताए ।

अपहरणमा बालकको आफ्नै मामासँगै एक जना नजिकका मामा र फिरौती माग गर्न प्रयोग भएको मोबाइल सिमकार्ड रहेको धनुषा, एकराहिकी मञ्जु देवी ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपहरणमा ठाकुरको नाममा रहेको सिमकार्ड प्रयोग भएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक राणाभाटले बताए । अपहरणमा संलग्न भएको हुन सक्ने अन्य ३ जनालाई अनुसन्धानका लागि बोलाइएको उनले जानकारी दिए ।

शनिबार दिउँसो घर अगाडिबाट अपहरणमा परेका ६ वर्षीय बालकलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा खटेको प्रहरी टोलीले शनिबार साँझ सकुशल उद्धार गरेको थियो । बालक अपहरणमा आफ्नै मामासहित बुवा रमेश साह समेत शंकाको घेरामा रहेको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरज प्रताप सिंहले बताए । बालकका बुवालाई अपहरणको आरोपमा नियन्त्रणमा लिइएको डीआईजी सिंहले बताए ।

उनका अनुसार बालकका बुवाको गतिविधि समेत शंकास्पद पाइएको छ । अपहरणकारीले बालकको परिवारसँग फोन गरी फिरौती माग गरेका थिए । अपहरणबारे थप अनुसन्धान भइरहेको र मुद्दा दर्ता गरी आरोपितलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Logo