नेविसंघका नेता सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

नेविसंघका नेता सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान


बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

पुर्पक्षका लागि कारागार चलान गर्नेमा छबिसपाथिभेरा गाउँपालिका–३ का विकास ऐडी, प्रकाश ऐडी, केदारमान ऐडी र ज्ञानबहादुर कठायत रहेका छन् । घटनामा संलग्न मानिएका प्रतिवादी अर्का जयबहादुर रोकायालाई भने रु एक लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियाे । तर सो रकम तिर्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको अदालतका कर्मचारी अक्कल रावलले जानकारी दिए ।

हत्याको अभियोग लागेका पाँचै जना यस अगाडि प्रहरी हिरासतमा थिए । गएको माघ १३ गते बान्नीचौर माविको विद्यालय व्यवस्थापन समितिको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष विकास ऐडी र उनका भाइसहितको टोलीले सिंहलाई खुणा प्रहार गरी हत्या गरेको बताइएको छ ।

Logo