गैँडाको खाग बिक्री गरेको मुद्दाका फरार ३ अभियुक्तहरू पक्राउ

गैँडाको खाग बिक्री गरेको मुद्दाका फरार ३ अभियुक्तहरू पक्राउ


गैँडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान शारदा नगरपालिका-५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाँउपालिका-३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञान बहादुर रुम्वा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार प्रतिवादीहरूलाई खोजी गर्ने क्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पुरन रेउलेलाई काठमाडौं धापासीबाट तथा आइत तामाङ र ज्ञान बहादुर रुम्वालाई सितापाईलाबाट पक्राउ गरेको हो ।

उनीहरूले गैँडाको खाग ओसारपसार एवं खरिद विक्री गर्न प्रयोग गरेको ना.२ च १४५८ नम्बरको गाडी र १ थान हतकडीको चाब समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीको लागि बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, चितवनमा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

साथै सोही मुद्दामा संलग्न रहेका अन्य ४ जना अभियुक्तहरूलाई व्यूरोबाट खटिएको प्रहरीले यसभन्दा अगाडि नै काठमाडौंको विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवनमा पठाइसकेकाे ब्यूरोले जनाएको छ ।

Logo