जब बालविवाह गरेको अभियोगमा जग्गेबाटै बेहुला पक्राउ परे…!

जब बालविवाह गरेको अभियोगमा जग्गेबाटै बेहुला पक्राउ परे…!


बाल विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेको उम्मेरभन्दा कम उमेरकी किशोरीको विवाह भएको पाइएपछि बालविवाह सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनले नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाह सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए ।

मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

Logo