गतवर्ष पुष महिनाबाट सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थालेपछि अहिलेसम्म ९,२१० वटा छाउगोठहरू भत्काइएको गृह मन्त्रालयले जनाएको छ।
महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो। अभियानलाई साथ दिँदै महिलाहरू स्वयं सहभागी भएर आफूहरू बस्दै आएका छाउगोठहरू भत्काएका थिए।
पुनः छाउगोठमै
स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेको बताउँछन्।
घरबाहिर बस्नुपर्ने बाध्यताबाट अझै मुक्त हुन नसकेको उनीहरूको गुनासो पाइन्छ। पुनः छाउगोठमै बस्न थालेकी पश्चिम सुर्खेतकी एक महिला भन्छिन्, ''घरभित्रै बस्ने मन भएपनि देउता रिसाउने भन्दै बूढाबूढी (सासु–ससुरा)ले बस्नै दिँदैनन्। त्यसैले महिनावारी हुँदा पाँचदिन बाध्य भएर छाउगोठमै बस्ने गर्छु।''
उनले घरभित्र बस्न नपाउँदा धेरै पीडा हुने गरेको पनि बताइन्। प्रहरी प्रशासनको डरले नयाँ छाउगोठ बनाउन भने छाडेका छन्। तर अहिले गाउँका धेरै महिला दिदीबहिनी गाईभैँसीको गोठ, बाख्राखोर, स्नानघर र ओडारमा बस्ने गरेको समेत उनी बताउँछिन् ।
‘तोड्न र छोड्न सकिएन’
कर्णाली र सुदुरपश्चिममा देउता रिसाउँछन् भन्ने अन्धविश्वासले गर्दा महिलाहरू महिनावारी हुँदा घरबाहिर (छाउगोठ) बस्न बाध्य हुँदै आएको बताइने गरेको छ।
पञ्चपुरी नगरपालिका डाबकी रत्न विकले देउता रिसाउने र घरमा अनिष्ट हुने अन्धविश्वासले गर्दा आफूहरूले बर्षौंदेखि हैरानी खेप्नु परेको बताउँछिन्। उनी भन्छिन्, “छाउ बार्न मन छैन् तर देवीदेवताको डरले कुसंस्कारलाई तोड्न र छोड्न सकिएको छैन।”
छाउगोठको रूप मात्रै फेरिएको तर संस्कार र सोच जहाँको त्यहीँ रहेको धेरैको अनुभव छ।
मनोवैज्ञानिक भय
देउता रिसाउने भएकै कारण महिनावारी भएका महिलाहरु स्वयंसमेत पानी पधेँरा प्रयोग गर्न, फलफूलका बोटविरुवा छुन र दूध दही खानबाट पनि वञ्चित हुन्छन्।
महिनावारी भएका महिलाले भुलबस फलफूलका बोटबिरुवा छोइहाले सुनपानी छर्केर शुद्ध गर्ने गरिएको गाउँलेहरूको अनुभव छ। गृह मन्त्रालयको तथ्याङ्कमा ९,२१० मध्ये ६,१४६ वटा छाउगोठ सुदुरपश्चिमको अछाम जिल्लामा मात्र भत्काइएको थियो । बीबीसीबाट
प्रतिक्रिया