दोभान बजार आगलागी अपडेट, ७९ घरपरिवार विस्थापित

दोभान बजार आगलागी अपडेट, ७९ घरपरिवार विस्थापित


ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान  भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । 

“अहिलेसम्म पूर्णरुपमा आगो नियन्त्रणमा आउन सकेको छैन”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाले भने, “आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् भने ७९ परिवार विस्थापित भएका छन् ।” आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आइएमईको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिए । 

जिल्लाको दोस्रो ठूलो बजार दोभान हो । यस बजारमा १०० व्यापारिक घर भएको उनले बताए। ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयर लगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको भनाइ छ । उनले भने, “आगलागीबाट भएको क्षतिको विवरण अब सङ्कलन गर्छौं ।” फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।रासस

Logo