ताप्लेजुङका अग्निपीडितका तर्फबाट दीर्घकालिन पुनःस्थापनाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

ताप्लेजुङका अग्निपीडितका तर्फबाट दीर्घकालिन पुनःस्थापनाको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र


ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालिन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनु पर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । 

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका वडा नं. ३ स्थित दोभान बजारमा फागुन १८ गते (मंगलबार) आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरि बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्निपीडितको दीर्घकालिन पुनःस्थापनाका लागि भूकम्पपीडित सरह सहयोगको माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । 

त्यसैगरी ज्ञापन पत्र बुझाउँदै आगलागीका कारण आवासविहिन हुन पुगेका पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने, पहाडी भेगको बजारहरुमा आगलागी बाट हुने जोखिम र क्षति न्युनिकरण गर्न दमकल तथा पानी ट्यांकीको व्यवस्थापन गरिदिन तथा आगलागी पीडितका लागि पीडितको हितमा व्यवस्थित शहरी विकास आयोजनाको व्यवस्था गर्न माग गरिएको प्रतिनिधिसभा सदस्य तथा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए।

दोभान बजार अग्निपीडित राहत तथा सहयोग समितिको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्दारको काम शुरु भइसकेको बताए । सोमबार नै टेन्ट, ब्याल्यांकेट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने उनको भनाइ छ । आवासको निम्ति भूकम्प पीडित सरहको मापदण्डको आधारमा आवश्यक रकम उपलब्ध गराउने उनले बताए ।

तत्कालीन राहतको रुपमा गृहमन्त्रालयले प्रति परिवार १५ हजार रुपैँयाँका दरले पठाइसकिएको जानकारी दिंदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणका लागि पाँच लाख रुपैँयाँ उपलब्ध गराउने पनि बताए ।

Logo