कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ देखि

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ देखि


सरकारले पहिलो चरणमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदो वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आउँदो वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए । 
माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । 

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म झण्डै चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । त्यस खोप अभियानमा कुल जनसङ्ख्या १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए । 

उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । त्यही खोपप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनले यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा–रुबेला, बिफर, जापानिज इन्सेफेलाइटिस रोगलाई निवारण गरेको उल्लेख गर्दै कोभिड–१९ लाई पनि खोपद्वारा नै नियन्त्रण गर्ने बताए । उनले खोपबारे बुझाउन नसक्दा सुरुमा खोप नलगाउन मानिस हिच्किचाएको समेत बताए । 

विश्व स्वास्थ्य सङ्गठन नेपालका नेशनल प्रोफेसनल अफिसर डाक्टर राहुल प्रधानले कोभिशिल्ड खोप नेपालसँगै विश्वका ५८ देशले प्रयोग गरिरहेकाले प्रभावकारी र सुरक्षित रहेको बताए । उनले विश्वमा २२ करोड ७६ लाख मानिसले लगाइसकेको समेत जानकारी दिए । रासस

Logo