केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ‘कालोटोपी’ सुनमाया क्रियाशील पत्रकारिता सम्मानबाट पुरस्कृत

केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ‘कालोटोपी’ सुनमाया क्रियाशील पत्रकारिता सम्मानबाट पुरस्कृत


केन्द्रबिन्दु मिडियाका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपी सुनमाया तामाङ अक्षयकोषबाट स्थापित सुनमाया क्रियाशील पत्रकारिता सम्मान ०७७ बाट पुरस्कृत भएका छन् । 

काभ्रे जिल्लाको मण्डनदेउपुर १० स्थित उमाशह शिक्षालय उच्च माविमा विद्यालयको ६९ औं वार्षिक उत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । सम्मानित पत्रकार त्यस विद्यालयका पूर्वविद्यार्थी पनि हुन् । 

कार्यक्रममा बोल्दै पत्रकार कालोटोपीले यो सम्मानले आगामी दिनमा आफूलाई काम गर्न थप हौशला प्रदान गरेको बताए । विगत १७ वर्षदेखि पत्रकारितामा सक्रिय कालोटोपीले नेपाल समाचारपत्र दैनिकबाट पत्रकारिता थालेका हुन् । उनीसँग विसं. ०६१ सालदेखि ३ वर्ष जिल्लाबाट प्रकाशित हुने सञ्जीवनीपत्र साप्ताहिकमा पनि मण्डनभेगको संवाददाता भएर काम गरेको अनुभव छ । ०७० सालदेखि भने उनले विभिन्न अनलाइनहरुमा आफ्नो सक्रियता बढाउँदै आएका छन् । 

हाल उनी केन्द्रबिन्दु मिडियामा साढे ३ वर्षदेखि वरिष्ठ उपसम्पादकको जिम्मेवारी लिएर काम गरिरहेका छन् । यसका साथै विभिन्न राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा नियमित स्तम्भलेखनमा पनि उनको सक्रियता कायमै छ । 

सोही पुरस्कारबाट गोरखापत्र दैनिकका पत्रकार केशवराज पौडेल पनि सम्मानित भएका छन् । 

कार्यक्रमका प्रमुख अतिथी वागमति प्रदेशका प्रदेश सांसद लक्ष्मण लम्साल र विद्यालयका प्रधानाध्यापक शालिकराम श्रेष्ठ लगायतले उनलाई सम्मान गरेका हुन् । 

विद्यालयकी ११ वर्षिया विद्यार्थी सुनमाया तामाङको ०७५ सालमा निधन भएपछि उनकै नाममा खडा गरिएको अक्षयकोषबाट हरेक वर्ष २ जना क्रियाशिल पत्रकार र ४ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती दिइने निर्णयस्वरुप आज आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै सांसद लम्सालले जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता भएकाले विद्यालय र शिक्षकले त्यसमा केन्द्रीत हुनु पर्ने बताए । उनले सरकारले शिक्षामा गरेको लगानी अनुरुप प्रतिफल आउन नसकेको भन्दै गुणस्तर सुधार गर्ने तर्फ सरकारले नीतिगत सुधारमा जोड दिनु पर्ने बताए । 

प्रधानाध्यापक शालिकराम श्रेष्ठले विद्यालयका शैक्षिक गतिविधीहरु उल्लेख गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्दै लगिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामा ले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको भूमिका उतिकै आवश्यक रहेको बताएका थिए । आगामी दिनमा कमजोरीहरुलाई सुधार गर्दै लगिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए । वडा नं. १० का वडाध्यक्ष विष्णुमणि नेपालले वडा र नगरबाट विद्यालयका लागि चाहिने आर्थिक सहयोग उपलब्ध गराउने प्रबिद्धता व्यक्त गरेका थिए । 

वि.सं. २००८ सालमा स्थापित यस विद्यालयमा हाल  २८५ जना विद्यार्थी अध्ययनरत छन् । तत्कालिन अवस्थामा यस भेगमा खोलीएको यो सबैभन्दा पुरानो विद्यालय हो ।

Logo